काठमाडौं । पछिल्लो पटक यूनिभर्सल पावर कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरेको साधारण सेयर तोकिए बमोजिम बिक्री हुन सकेन । जसका कारण ३ पटक म्याद थप गरियो ।
तर हालसम्म मात्रै १३.५७ प्रतिशत साधारण सेयर बिक्री भएको छ ।
कम्पनीले हालसम्म कूल २ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरेको छ । । गत पुस १५ गतेदेखि बिक्री सुरु भएको सो कम्पनीको सेयर बिक्री गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आज आइतबारसम्मका लागि साधारण शेयर बिक्री हुने गरी समय सीमा तय गरेको थियो ।
तर हालसम्म २ हजार ५९२ जनाले मात्रै आवेदन दिएका छन् ।
अझै कम्पनीको ८६.४३ प्रतिशत सेयर बिक्री हुन बाँकी रहेको छ । त्यो भनेको बिक्री हुन बाँकी रु १८ करोड १५ लाख ३५ हजार बराबरको हो ।
कम्पनलिे १०० रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार बराबरको २१ लाख ३५० कित्ता सेयर बिक्री गर्न लागेको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका लागि साधारण सेयर बिक्री गरेको हो । कम्पनीको वित्तीय अवस्था खराब रहेको भन्दै इक्रा नेपालले गरेको रेटिङमा ग्रेड ४ पाएको थियो ।
यूनिभर्सल पावरले दोलखा जिल्लामा कूल ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
यस्तै सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको शिवश्री हाइड्रो पावरले पनि गत पुस २७ गतेदेखि यही माघ ११ गतेसम्म साधारण सेयर बिक्रीको समयसीमा तोकेको थियो ।
कम्पनीले पहिलो चरणमा १४ करोड ७६ लाख ४० हजार बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको हो । तर तोकिएको अवधिमा साधारण सेयर बिक्री नभएपछि कम्पनीले एक साताको म्याद थप गरेको छ ।
कम्पनीले भने स्थानीयबासीको अनुरोधमा म्याद थप भएको जनाएको छ । थपिएको अवधि अनुसार अब स्थानीयबासीले यही माघ १८ गतेसम्म साधारण सेयरमा आवेदन दिन पाउनेछन् ।
सो कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ७ हजार ३८० कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
कम्पनीले सिन्धुपाल्चोमा २२.२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । इक्रा नेपालले गरेको रेटिङमा सो कम्पनीको पनि वित्तीय अवस्था कमजोर रहेको भन्दै ग्रेड ४ प्राप्त गरेको छ ।
SHARE YOUR THOUGHTS