प्यान लगाउने चर्चाले लगानीकर्ता त्रसित, नेप्से सूचक साढे १० अंकले घट्यो

काठमाडौैं । आगामी वैशाख १ गतदेखि दोस्रो बजारमा सेयर खरिद गर्नेलाई अनिवार्य स्थानी लेखा नम्बर (प्यान) लागु हुने चर्चाले साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६८ अंकले घटेर ११६२.०९ विन्दुमा पुगेको छ ।

बिहीबार कारोबार बन्द भएपछि वैशाख १ गतेबाट सेयर खरिद गर्दा अनिवार्य प्यान नम्बर चाहिले चर्चा बाहिर आएसँग लगानीकर्ताहरु त्रसित बनेका छन् ।

सेयर लगानीकर्ताका ५ वटै समूह पुगेर शुक्रबार नेप्सेमा तत्काल यो लागु गर्न नहुने, लागु गर्नुपूर्व अध्ययन समिति बनाएर अध्ययन गर्नुपर्ने, लगानीकर्तालाई सुसुचित बनाउनु पर्ने, वैशाख १ देखि नै लागु हुने बाताबरण बनाउनु नहुने, प्यान बाध्यताले भन्दा पनि ऐच्छिक रुपमा लागु हुने बाताबरण बनाउन पहल गर्न दबाब दिएका थिए ।

नेप्सेले पनि प्यानको विषयमा नआँतिन लगानीकर्तालाई आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । नेप्सेले लगानकिर्तालाई करको विषयमा आएको हल्लाको पछि नलाग्न आग्रह पनि गरेको थियो ।

तर आइतबारको कारोबारमा नेप्सेको उक्त आग्रहले काम नगरेको र लगानीकर्ता प्यानको मनोवैज्ञानीक त्रासमा रहेको देखियो । जसका कारण नेप्से दोहोरो अंकले तल झरेको छ ।

लगानीकर्ताहरु प्यानको विषयमा छलफल गर्न धितोपत्र बोर्डमा पनि पुगे । बोर्डबाट पनि चित्त बुझ्दो जवाफ पाएनन । बोर्डका अध्यक्षले आफुभन्दा माथिल्लो निकायले गर्न लागेको काममा आफुले खासै केही भन्न नसक्ने भन्दै पठाईदिए ।

त्यहाँ सहभागी लगानीकर्ता पनि यसले बजार झन तल झर्ने आंकलन गर्र्दै फर्किएका छन् । त्यसको संकेत आइतबार नै देखिएको छ ।

यो दिन १६४ कम्पनीको ११ लाख ८५ हजार ८७२ कित्ता सेयर ३४ करोड ३ लाख ७१ हजार १२७ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०६ अंकले घटेर २४६. ५९ विन्दुमा पुगेको छ ।

आइतबार १० वटै समूहको सूचक ओरालो लागेको छ । सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ९३.७५, बीमा ६९.९३, उत्पादन तथा प्रशोधन २१.६४, जलविद्युत १६.४१, माइक्रोफाइनान्स १२.६९, होटल १२.५२, विकास बैंक, १०.०३, बैंकिङ समूहको परिसूचक ८.३९ अंकले गिरावट आएको छ ।

यो दिनको कारोबारमा सबै भन्दा बढी समता माइक्रोफाइनान्सको सेयर मूल्य ३.७८, कन्काइ विकास बैंक, ३.२५ग्रिन डभेलपमेन्ट बैंकको २.८८ प्रतिशतले बढेको छ ।

यस्तै छ्याङदी हाईड्रोपावरको ६.५४, जनता बैंकको संस्थापक ६.४२,बरुण पावर कम्पनी ३.७३,लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ३.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशीको ३ करोड २४ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल बैंकको १ करोड ६० लाख ७९ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।