प्यानको प्रभावः नियमकलाई पत्याएनन् लगानीकर्ताले, नेप्से सूचक सामान्य अंकले बढ्यो « Eglish Khabarhub

प्यानको प्रभावः नियमकलाई पत्याएनन् लगानीकर्ताले, नेप्से सूचक सामान्य अंकले बढ्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार देखिएको छ । नेप्से सूचक २.७९ अंकले बढेर परिसूचक ११६४.८९ विन्दुमा पुगेको छ ।

आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदगर्नेलाई अनिवार्य रुपमा प्यान लागु हुने चर्चासँगै आइतबार दोहोरो अंकले घटेको नेप्से सूचक सोमबार सामान्य अंकले बढेपनि यसमा उत्साह मानिहाल्नु पर्ने नभएको लगानीकर्ताहरुको भनाई छ ।

प्यानको चर्चाले बजारमा नकारात्मक असर पर्छ भनेर लगानीकर्ताको दबाबमा नेप्सेले शुक्रबार करको विषयमा ध्यान नदिई कारोबार गर्न भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यसको असर आइतबारको कारोबारमा देखिएन ।

यस्तै आइतबार लगानीकर्ताका ५ वटै संस्थाले धितोपत्र बोर्डमा पुगेर प्यानको विषय बेमौसमी बाजा भएको भन्दै उचित समयमा, अध्ययनपछि मात्रै क्रमैसँग ल्याउन आग्रह मात्र गरेनन् बजारमा लगानीकर्ताको मनोविज्ञानलाई माथी उठाउने विज्ञप्ति जारी गर्न पनि लगाए ।

बोर्डले पनि प्यानको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सुझबुजले लगानीको निर्णय लिन भन्दै लगानीकर्तालाई आग्रह गर्यो ।
त्यो आग्रहले अन्तिम समयमा आएर नेप्से परिसूचक हरियो भएपनि कारोबार रकमले भने नेप्से, बोर्डको विज्ञप्तिले काम नगरेको प्रमाणीत गरेको छ ।

आइतबार ३४ करोड ३ लाख ७१ हजार १२७ रुपैयाँमा किनबेच भएको थियो । जुन दिन बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।

सोमबार बजार २.७९ अंकले बढ्दा पनि जम्मा २२ करोड ४३ लाख १६ हजार ५२७ रुपैयाँको मात्रै सेयर किनबेच भएको छ ।

यसको अर्थ लगानीकर्ताले नियामक निकायको कुरालाई विश्वास नगरेको देखाएको स्वयं लगानीकर्ताहरुले बताउन थालेका छन् । सोमबार १६५ कम्पनीको ८ लाख ७१ हजार ८२८ कित्ता सेयर किनबेच भएको छ ।

यो दिन १० वटा समूहको सेयर कारोबार हुँदा ६ वटा समूहमा सुुधार देखिएको छ भने बाँकी समूह घटेका छन् । सबै भन्दा बढी निर्जीबन बिमा समूह ७२.४, बीमा १९.८६, माइक्रोफाइनान्स १७.५९, विकास बैंक ८.६१, वाणिज्य बैंक समूहको सूचक ०.९९ अंकले बढेको छ । यता सबैभन्दा बढी घटनेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । जसको १४.७८ अंकले घटेको छ ।

यो दिन कारोबार रकमको आधारमा सिभिल बैंकको संस्थापक र अप्पर तामाकोशी रहेका छन् । सिभिलको १ करोड ९५ लाख ५८ हजार, अप्पर तामाकोशीको १ करोड ७२ लाख ८२ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

यो दिन कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स,माहुली सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन भने गुमाउनेमा हाथवे फाइनान्स, मल्टीप्रपोज फाइनान्स, कालिका लघुवित्त, आँखुखोला जलविद्युुत कम्पनीका लगानीकर्ता रहेको नेप्सेले जनाएको छ ।

Publish on: