काठमाडौँ । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइदिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार आफूले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति निकोलस मादुरोको आज्ञापालक भन्दै अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको देशको सर्वोच्च अदालतले उक्त निर्णय सुनाएको हो ।
गत साता गुआइदोले आफूलाई देशको निमित्त नेता घोषणायता भेनेजुएलामा संघर्ष चर्कदै गएको छ ।
भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको सर्वोच्च अदालतले निर्णय सुनाएको छ बिबिसीले जनाएको छ ।
दक्षिण तथा उत्तर अमेरिकी राज्यहरूको एउटा समूहले तत्काल कुनै पनि सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएको उल्लेख छ । पेरूका विदेशमन्त्री नेस्टर पोपोलिजियोले भेनेजुएलामा जारी सङ्कटको शान्तिपूर्ण समाधान खोज्न सन् २०१७ मा बनेको क्यानडासहित १४ देशहरूको एउटा समूह लिमाले सैन्य हस्तक्षेपको विरोध गर्ने बताएका छन ।
मादुरोले दोस्रो कार्यकालको शपथ ग्रहण गरेपछि देशभरि विरोध प्रदर्शनहरू भएका थिए । अमेरिकी अधिकारीहरूले सङ्कट समाधानका विभिन्न उपायहरूबारे छलफल गर्न आफूहरू तयार भएको बताउँदै आएका छन् । त्यस्तै राष्ट्रपति निकोलस मदुरोलाई पनि रुस, चीन, भारत, टर्की जस्ता मित्र शक्तिले समर्थन गरेका छन् ।
राष्ट्रपति मदुरोको पक्षमा रहेको सर्वोच्च अदालतले महान्यायाधिवक्ता तारेक विलियम शाबले विपक्षी नेता गुआइदोमाथि लगाउनु पर्ने प्रतिवन्धहरूको आह्वान गरेपछि तुरुन्तै तिनको अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ ।
विपक्षी नेता गुआइदोले देशमा शान्ति र सुव्यवस्थामा खलल पुर्याएका कारण पछिल्लो अवस्थाबारे प्रारम्भिक अनुसन्धान पूर्ण नहुन्जेल देश छाड्न नपाउने महानन्यायाधीश माइकेल मोरेनोले आदेश दिएका छन्। संसद्मा उपस्थित भइसकेपछि पत्रकारहरूसँग बोल्दै विपक्षी नेता गुआइदोले अदालतको सो कदम नयाँ नभएको प्रतिक्रिया दिएका छन् ।
ह्वाँ गुआइदोलाई भेनेजुएलास्थति अमेरिकी ब्याङ्क खाता नियन्त्रणको जिम्मा घोषणा गरेपछि उनीमाथि प्रतिवन्धका विषय उठाइएका हुन ।
गुआइदोमाथि प्रतिबन्धका खबर बाहिर आएपछि त्यसको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले भेनेजुएलाका महान्यायाधिवक्ता शाबलाई ’पूर्व महान्यायाधिवक्ता’ बताउँदै गुआइदोमाथि कुनै किसिमको हानी गर्नेले गम्भीर परिणाम भोग्न पर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय विवरणहरुमा उल्लेख छ ।
भेनेजुएलाले लामो समयदेखि चरम आर्थिक संकटको सामना गरिरहेको छ।
गत वर्षको विवादित चुनाव जितेपछि राष्ट्रपति मदुरोले दोस्रो कार्यकालका लागि गत जनवरी १० मा शपथ ग्रहण गरेपछि देशभरि विरोध प्रदर्शन भएका थिए ।
अस्वाभाविक महँगी र खाद्य तथा औषधिजस्ता अत्यावश्यक सामग्रीको अभाव बढेपछि लाखौँ मानिस भेनेजुएला छोडेर अन्यत्र जान बाध्य भएका छन्।
SHARE YOUR THOUGHTS