बैंकले सहुलियत दरको ऋण नदिएको जनगुनासो आएपछि राष्ट्र बैंकले दियो कडा निर्देशन « Eglish Khabarhub

बैंकले सहुलियत दरको ऋण नदिएको जनगुनासो आएपछि राष्ट्र बैंकले दियो कडा निर्देशन



काठमाडौं । सरकारले घोषणा गरेको र राष्ट्र बैंकले कार्यविधि नै बनाएर सहुलियत दरको ऋण दिने व्यवस्था मिलाए पनि बैंकहरुले यस्तो ऋण दिन आनाकानी गरेका छन् ।

बैंकले सहुलियत ऋण नदिएको भन्दै जनस्तरबाट ब्यापक गुनासो आएपछि राष्ट्र बैंकले बैंकहरुलाई कडा निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै तत्काल सबै शाखाबाट सहुलियत दरको ऋण दिने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्थाको घोषणा गरेको थियो ।

सरकारको उक्त घोषणा पश्चात ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि-२०७५’ स्वीकृत भई उक्त कार्यविधि कार्यान्वयन गर्न राष्ट्र बैंकले २०७५ असोज ११ गते बैंकहरुलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि सर्वसाधारणहरु नजिकको बैंक तथा वित्तीय संस्थामा सहुलित दरको कर्जा लिनका लागि सम्पर्क राख्दा बैंकहरु उदासिन भएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले बैंकहरुको सहुलित दरको कर्जा दिन उदासिन भएको भन्दै गुनासो गरेपछि राष्ट्र बैंकले उक्त कार्यविधि सम्बन्धी आन्तरिक कार्यविधि तयार पारेर देशभरका शाखाबाट कर्जा लिन योग्य र इच्छुकलाई यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलद्वारा हस्ताक्षरित निर्देश्नमा उल्लेख छ ।

Publish on: