नेप्से सूचक घट्दा पनि उन्नति र सामुदायिक लघुवित्तका सेयरधनीले कमाए « Eglish Khabarhub

नेप्से सूचक घट्दा पनि उन्नति र सामुदायिक लघुवित्तका सेयरधनीले कमाए



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सामान्य अंकको गिरावट आएको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ ।

बुधबार नेप्से सूचक ०.४० अंकले घटेर परिसूचक ११६०.५९ बिन्दुमा रोकिएको छ । यो साताको सुरुदेखि नै दोस्रो बजारमा लगानीगर्ने लगानीकर्ताका लागि आगामी वैशााख १ गतदेखि प्यान अनिवार्य लाग्ने चर्चासँग बजारमा सुधार आउन सकेको छैन ।

बजारमा सामान्य उतार चढाव आउनु सामान्य भएपनि लगानीकर्तामा प्यानको आतंक भने कायमै देखिएको छ । प्यानका विषयमा नेप्से धितोपत्र बोर्डले सामान्य विज्ञप्ति जारी गरेपनि सरोकारवाला निकायबाट आधिकारीक धारणा आउन नसकेका कारण बजारमा अझै पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताइन थालेको छ ।

यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको दोस्रो त्रैमासको वित्तीय विवरण धामधम आईरहेको छ । लगानीकर्तालाई वित्तीय विवरणले आकर्षित गर्नुपर्नेमा प्यानले अँत्याएको प्रष्टै देखिन थालेको छ ।

बुधबारको कारोबारमा नेप्से मात्र नभएर कारोबार रकम पनि मंगलबारको तुलनामा निकै घटेको छ । मंगलबार ३० करोड ८० लाख १४ हजार रुपैयाँ सेयर किनबेच भएको थियो । बुधबार मात्रै १९ करोड २० लाख ९४ हजार ४९२ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन १६८ कम्पनीको ५ लाख ७२ हजार ७७५ कित्ता सेयर किनबेच भएको छ ।

१० समूहको कारोबार हुँदा ५ वटा समूहको कारोबारमा सुधार आएको छ भने ५ वटाको गिरावट आएको छ । यो दिन बैंकिङ समूहको १.५५,व्यापार १.९, होटल ५.६९,अन्य १.३३ र माइक्रोफाइनान्स समूहको ५.३१ अंकले बढेको छ । यस्तै विकास बैंक समूहको ७.०७, जलविद्युत ६.०५, वित्त ५.३४, निर्जीवन बीमा कम्पनी ८.४५, उत्पादन तथा प्रशोधन ६३.८२ र बीमा समूह ५.३९ अंकले घटेका छन् ।

बुधबार कारोबार रकमको आधारमा सबै भन्दा बढी कारोबार गर्नेमा नागरिक लगानी कोष रहेको छ । कोषको २ करोड ३० लाख ३४ हजार ६६० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा अप्पर तामाकोशी र एनआईसी एसिया बैंक रहेका छन् ।

यो दिन उन्नती माईक्रोफाइनान्स, सामुदायिक लघुवित्त, साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले कमाएका छन भने सिटी एक्सप्रेस फाइनान्स, यूनिलिभर नेपाल, तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: