काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाले मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।
धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि वितरण हुन नसकेको हो ।
गोरखातर्फ कूल ९ हजार ३७२ रोपनी र धादिङतर्फ कूल १० हजार २ रोपनी जग्गाको मुआब्जा निर्धारण गरिसकेको छ । तर निर्धारण भएका क्षेत्रको समेत जग्गाधनीलाई वितरण हुन सकेको छैन ।
सरकारले चालू आर्थिक वर्षमा आयोजना प्रभावित क्षेत्रका लागि रु १७ अर्ब ९९ करोड ९६ लाख बराबरको मुआब्जा वितरणका लागि बजेट विनियोजन गरेको छ ।
दुवै जिल्लाका मालपोत र नापी कार्यालयमा कर्मचारी अभावका कारण मुआब्जा वितरण कार्य प्रभावकारी बन्न नसकेको हो ।
आर्थिक वर्ष २०७३/७४ मा दुवै जिल्लाका एक हजार ९९३ जग्गाधनीका कूल ८ हजार ३६६ रोपनी जग्गाका लागि ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरेको थियो ।
यस्तै आव २०७४/०७५ मा ५ हजार १०२ जग्गाधनीका १७ हजार २३१ रोपनी जग्गाका लागि१० अर्ब ८४ करोड २२ लाख रुपैयाँ बराबरको मुआब्जा वितरण गरेको थियो ।
चालू आवको हालसम्म दुई हजार ४६३ जग्गाधनीको सात हजार ७५२ रोपनी जग्गाका लागि ४ अर्ब ७० करोड ५१ लाख २५ हजार रुपैयाँ मुआब्जा वितरणको प्रक्रियामा छ ।
आयोजनाले हालसम्म कूल ९ हजार ५५८ जग्गाधनीका ३३ हजार ३४९ रोपनी जग्गाका लागि १९ अर्ब ८९ करोड ७३ लाख २५ हजार ४१५ रुपैयाँ बराबरको मुआब्जा वितरण गरेको छ ।
गोरखातर्फ तीन हजार ३०० रोपनी र धादिङतर्फ दुई हजार रोपनी जग्गाको मुआब्जा निर्धारण भइसकेको छैन । आयोजना प्रभावितले मुआब्जा निर्धारण हुन नसकेका स्थानको तत्काल मुआब्जा निर्धारण गरिदिन आग्रह गर्दै आएका छन् ।
SHARE YOUR THOUGHTS