सेबोनले बजार सुधारका काम नगरेको भन्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्तालाई खरेलले के भने ? « Eglish Khabarhub

सेबोनले बजार सुधारका काम नगरेको भन्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्तालाई खरेलले के भने ?



काठमाडौं । धितोपत्र बोर्डले पुँजी बजारका लागि गर्नुपर्ने कामहरु समयमा नै नगरेको भन्दै सेयर लगानीकर्ता दबाब समूहका केही प्रतिनिधिहरु अर्थ मन्त्रालय पुगेका छन् ।

मन्त्रालयमा पुगेको प्रतिनिधिहरुले धितोपत्र बजारलाई देशब्यापी बनाउनका लागि सबै जिल्लामा ब्रोकर शाखा विस्तार गर्न भएको विलम्ब र बैंकलाई ब्रोकर लाईसेन्स दिन बोर्डले गरेका विलम्बका विषयमा जानकारी गराए ।

उनीहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई धितोपत्र बजारमा प्रवेश गराउने विषयमा भएका गतिविधिका बारेमा जानकारी लिएका छन् ।

लगानीकर्ताहरुको बोर्डले समयमा नै गर्नुपर्ने काम नगरेका कारण बजारको विस्तारमा अवरोध भएको भन्ने गुनासोमा अर्थ मन्त्रीको निजी सचिवालयमा कार्यरत डा. रामशरण खरेलले त्यसका लागि मन्त्रालयबाट आवश्यक पहल गरेर सबै काम समयमा नै हुने वाताबरण तयार पार्ने आश्वस्त पारेको सहभागी हरि ढकालले बताए ।

बोर्डमा बुझाएको ३२ बुँदे मागपत्रको विषयमा पनि जानकारी गराएको उनले बताए ।

डा. खरेलसँग भएको भेटपछि उनीहरुले सरकार यतिबेला पुँजी बजारको विषयमा निकै सचेत रहेको पाएको जानकारी बताए ।

यसअघि सरकार बजार विरोधी भयो भन्दै भएको विभिन्न प्रचारबाजी गलत अब गलत हुँदै गएको उनीहरुको बुझाई छ ।

‘सरकार पुँजी बजार विरोधी थियो भने बजारको विकासका लागि समिति गठन गरेर तत्कालीन, अल्पकालिन र दिर्धकालीन गर्ने ५८ बुँदे कामहरु सार्वजनिक नै गर्ने थिएन,’ भेटमा खरेलले भनेका थिए, ‘मन्त्रीज्यू बजारप्रति निकै सकारात्मक हुनुहुन्छ, बजारको विकासका लागि के–के गर्न सकिन्छ, त्यसको लागि मन्त्रीज्यू तयार हुनुहुन्छ ।’

छलफलपछि एनआरएनए बजार भित्र्याउने लगायतका विषयमा भएको कुराले सरकार र अर्थमन्त्री पुँजी बजारप्रति सकारात्कम रहेको उनको भनाइ थियो ।

Publish on: