१ पुस २०८२, मंगलबार

लगानी आकर्षित गर्न तात्यो सरकारः विदेशी लगानीका उद्योगलाई १५ दिनभित्रै स्वीकृत दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी लगानी आकर्षित गर्न सरकार तातेको छ । सरकारले विदेशी लगानी आकर्षित गर्नका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको १५ दिनभित्र स्वीकृत दिने नीति स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदले पारित गरेर संसदमा प्रस्ताब गरिएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ मा यस्तो व्यवस्था गर्न प्रस्ताब गरिएको छ ।

दुइतिहाइको सरकारले प्रस्ताब गरेको विधेयक सरकारको इच्छा अनुसार पारित हुने देखिन्छ ।

त्यसैले अब नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले प्रक्रिया पुर्याएर निवेदन दिएको १५ दिनभित्र स्वीकृती पाउने भएका छन् ।

सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । उक्त विधेयक लगानी सम्मेलन अघि नै पारित गर्ने सरकारको तयारी छ ।

यसअघि विभिन्न निकायहरुले विदेशी लगानीका फाइल अड्काएर राख्ने गरेको व्यापक गुनासो आएको थियो ।

‘विदेशी लगानीकर्ताको निवेदन जाँचबुझ गर्दा तोकिए बमोजिमका कागजात पूरा भएको देखिएमा विदशी लगानी स्वीकृत गर्ने निकायले निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र तोकिएको ढाँचामा विदेशी लगानीको लागि स्वीकृत दिनेछ,’ विधेयकमा भनिएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले फाइल अड्काएर राख्न पाउने सम सीमालाई पनि घटाइएको छ । यसअघि राष्ट्र बैंकले आवेदन परेको ३० दिनमा विदेशी लगानी स्वीकृत गर्ने वा नगर्ने भनेर जवाफ दिनुपर्थ्यो । विधेयकमा त्यो सीमालाई घटाएर ७ दिनमा झारिएको छ ।

अर्थात् राष्ट्र बैंकले विदेशी लगानीको स्वीकृति पाउँ भन्दै दिएको निवेदनमा स्वीकृत दिन मिल्ने वा नमिल्ने भनेर ७ दिनभित्र सम्बन्धित लगानीकर्ता वा कम्पनीलाई जवाफ दिनुपर्छ ।

लगानीको वैधता जाँच्न भने राष्ट्र बैंकलाई ९० दिनको समय दिइएको छ। बैध स्रोतबाट आएरनआएको यकिन गरि राष्ट्र बैंकले सम्बन्धित निकायलाई तीन महिनाभित्र जानकारी गराउनुपर्ने कानुनमा व्यवस्था गरिएको छ।

समयमै लगानी भित्र्याउन स्वीकृति नदिँदा विदेशी लगानीकर्ताले भिसा थप्न नसक्ने र झन्झटिलो प्रक्रियाका कारण कयौं लगानीकर्ता बीचैमा नेपाल छोडेर जाने गरेको गुनासो छ ।