आन्दोलन गर्ने घोषणा गरेका ब्रोकरलाई फकाउँदै बोर्डले निकाल्यो यस्तो विज्ञप्ति « Eglish Khabarhub

आन्दोलन गर्ने घोषणा गरेका ब्रोकरलाई फकाउँदै बोर्डले निकाल्यो यस्तो विज्ञप्ति



काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुले धितोपत्र बोर्डका विरुद्ध संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएपछि बोर्डले उक्त चेतावनीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एक्कासी धितोपत्र दलाल व्यवसायीहरुकाे आन्दोलन गर्ने जानकारी आएको भन्दै यसप्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा फागुन ७ गते बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीलाई अनावश्यक हकारपकार पार्दै उनीहरुको योग्यतामा प्रश्न उठाउनुका साथै शुसाशित हुन नसकेको भन्दै गाली गलाैज गरेका थिए । बोर्डका अध्यक्षको उक्त व्यवहारले रुष्ट भएका व्यवसायीहरुले आन्दोलनका कार्यक्रम गरेर अघि बढने चेतावनी दिएका छन् ।

बोर्डका अध्यक्ष कार्कीले समितिको बैठकमा व्यवसायीहरुप्रति अभद्र व्यवहार गरेपनि मंगलबार विज्ञप्ति जारी गर्दै व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहुँच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा बजार बिकास तथा विस्तारका सम्बन्धमा दिएको अभिव्यक्तिलाई अन्यथा रुपमा लिइएको र सो सम्वन्धमा व्यवसायीहरुसँग बोर्डमा छलफल समेत गरी स्पष्ट समेत गराईसकिएका जनाइएको छ । साथै सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजार सम्वन्धी कार्यदलको सुझाव अनुसार सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेको उल्लेख छ ।

बोर्डले विज्ञप्ति मार्फत धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाइएको जनाएको छ । विगत केही वर्षदेखि धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि करमा आवद्घ गर्ने सम्बन्धमा समस्या रहेकोमा बोर्डको पहलमा सरकारले धितोपत्र दलाल व्यवसायलाई मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको जनाएको छ ।

यसैगरी मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिइएकोमा उक्त कार्यान्वयनमा आउन लागेको पनि जनाएको छ । धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौं उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको र आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको विज्ञप्तिमा उल्लेख छ ।

अन्य जिल्ला र स्थानहरुमा नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसाबले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि बढाउने काममा लागेको जनाएको छ । धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र व्यापारी (डिलर) को रुपमा काम गर्ने सम्बन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाई सम्वद्घ पक्षहरुको रायको लागि अनुरोध समेत गरिएको जनाएको छ ।

व्यवासयीहरुलाई कुनै समस्या भए बोर्डले समाधान गर्ने भन्दै यवसायीहरुले गर्नेे आन्दोलनले प्रत्यक्षरुपमा लगानीकर्ताहरुलाई असुविधा हुने र बजारमा अझ प्रतिकूल प्रभाव पर्ने भन्दै सबैलाई संयमित हुन अनुरोध गरेको छ । बोर्डले व्यवसायीलाई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।

Publish on: