काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन प्रणाली सुरु गरेको तीन महिनाको अवधिमा झन्डै तीन हजार जना लगानीकर्ताहरूले मात्रै यसको यूजर नेम र पासवर्ड लिएका छन् ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कात्तिक २० देखि फागुन दुई गतेसम्म दुई हजार आठ सय १५ जना लगानीकर्ताले अनलाइनको युजर नेम र पासवर्ड लिएका थिए भने आजसम्म लगभग तीन हजार जनाले यूजर लिएकोे नेप्सेको भनाई छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५ अनुरुप सदस्य दलालसँग सम्झौता गरेका ग्राहकलाई नेप्सेले मंसिर २३ गतेदेखि ब्रोकर मार्फत सेयर लगानीकर्ताहरुलाई अनलाइनको युजर नेम र पासवर्ड दिन सुरु गरेको थियो भने पुस १६ गतेदेखि सबै लगानीकर्तालाई युजर नेम र पासवर्ड दिन थालेको थियो ।
लगानीकर्ताहरूले युजर नेम र पासवर्ड लिनुअघि अनलाइन कारोबारका लागि ब्रोकरसँग सम्झौता गर्नुपर्छ । त्यसपछि मात्र यूजर नेम र पासवर्ड पाइन्छ ।
नेप्सेले लगानीकर्ताहरुलाई अनलाइनको प्रयोग कसरी गर्ने भनेर लगभग ५०० जनालाई तालिम दिएको जनाएको छ । नेप्सेले उपत्यका मात्र नभएर सातै प्रदेशमा तालिम आयोजना गरिरहेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार अहिले नेप्सेका तीन जना र सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका दुईसहित पाँच जनाले विभिन्न ठाँउमा तालिम दिइरहेका छन् ।
यस अघि इलाम र बिर्तामोडमा तालिम सम्पन्न भइसकेको छ । यि दुवै ठाँउमा लगभग तीन सय भन्दा बढीले तालिम लिएका छन् । यस्तै अहिले नेप्से र सिडिएससीको टोली नारायणघाटमा रहेको छ । भर्खरै विरगञ्ज र हेटौंडामा तालिम सम्पन्न भइसकेको छ ।
विरगञ्ज र हेटौंडामा झन्डै चार सय जना लगानीकर्ताहरूले अनलाइन प्रयोग गर्ने विधिको बारेमा जानकारी लिएका छन् भने नारायणगढमा शनिबार तालिम हुनेछ । उक्त टोली काठमाडौँ फर्केपछि अर्को टोली तालीमकै लागि बुटवल जाने कार्यक्रम तय भएको पराजुलीले बताए । नेप्सेले अहिले स्थानीय ब्रोकर र उद्योग वाणिज्य संघसँगको सहकार्यमा तालिम दिइरहेको जनाएको छ ।
यता नेप्सेले लगानीकर्ताहरुलाई तालिम दिन्का साथै आफैले बुझ्नका लागि भिडियो पनि बनाएको छ । यसको सहायताले पनि अनलाइन प्रयोगको बारेमा सिक्न सकिने छ ।
अहिले सेयर बजारमा १५ लाख लगानीकर्ता रहेको भनिएपनि औसतमा दुईदेखि साढे दुई लाखको हाराहारीमा सेयर लगानीकर्ता रहेको देखिएको छ । भएका पनि सबै लगानीकर्ताहरु एक्टिभ नभएको नेप्सेको भनाई छ ।
लगानीकर्ताहरुले समयमा नै अनलाइन नआएका कारण सेयर बजारको विकास हुन नसकेको, अनलाइन आएपनि बजार बढ्ने दाबी गर्दै आएका थिए । तर अहिलेसम्म अनलाइनको यूजर र पासवर्ड लिनेको संख्या हेर्दा त्यो राजनीति गर्ने बाहना मात्रै जस्तो देखिएको छ । अहिलेसम्म पनि अनलाइनमा लगानीकर्ताहरुको चासो खासै देख्न सकिएको छैन् । केही समय अघि अनलाइनमा केही प्राविधिक त्रुटि देखिएको थियो । अहिले कुनै पनि प्राविधिक त्रुटी नरहेको नेप्सेले जनाएको छ ।
अनलाइन समयमा नै आएन भनेर समय समयमा चर्को स्वर गरेका लगानीकर्ताहरूले अनलाइन आएपछि समयमा नै यसको यूजर नेम र पावसर्ड पाइएन भन्दै नेप्सेमा गएर हात हालाहालसम्म गरे । बिडम्बना अहिले ती लगानीकर्ताहरूले समेत अनलाइन सेवा प्रयोग नगरेको बताइन थालेको छ ।
अहिलेसम्म पनि लगानीकर्ताहरु अनलाइन प्रयोग गर्नु भन्दा पनि ब्रोकर कार्यालयमा जाने वा फोन बाट नै अर्डर दिएर कारोबार गर्नतर्फ नै उद्धत देखिएको नेप्सेको आंकलन छ ।
अनलाइनको यूजर नेम र पासवर्ड तत्काल चाहियो भन्दै मंसिर १० गते लगानीकर्ता सम्बन्धी संघ संस्थाका प्रतिनिधिले नेप्से कार्यालय घेराउ मात्रै गरेनन्, हातपात नै गरे । उनीहरुले त्यो समयमा बजारको विकास र विस्तारमा अवरोध गर्नेहरुले अनलाइनको यूजर दिन आनाकानी गरेको आरोप लगाएका थिए । लगानीकर्ताहरूले अनलाइनको यूजर नेम र पासवर्ड तत्काल दिए बजार बढ्ने दाबी गरेका थिए ।
उनीहरुकै दबाबमा नेप्सेले मंसिर २३ देखि ब्रोकर मार्फत र पुस १६ पछि सबै लगानीकर्तालाई युजर नेम र पासवर्ड दिन थालेको थियो । नेप्सेका एक अधिकारी भन्छन्,‘अनलाइको यूजर नेम पासवर्ड लिएर मात्र हुँदैन, चलाउन पनि सक्नुपर्छ, यो चलाउँदा साधारण कमजोरी भयो भने समस्या हुन सक्छ, त्यो बेलामा उनीहरुले शक्ति देखाउन हल्ला गरेका हुन, नेप्सेमा आएर हल्ला गर्ने सबै लगानीकर्ताहरूले अनलाइनको यूजर लिएका छन् भन्नेमा म आफै विश्वस्त हुन सकेको छैन्, लगानीकर्ताहरूले हल्ला गर्न भन्दा पनि प्रयोगको तरिका सिकेर प्रयोग गरे राम्रो हुन्छ । यसका लागि हामीले भिडियो पनि बनाएको छौं, त्यो नेप्सेको वेब साइटमा छ ।’
नेप्सेले अनलाइन सुरु गरेपनि सबै लगानीकर्ताहरूले प्रयोग गर्न नजान्दा समस्या भएको लगानीकर्ताहरुको भनाई छ । नेपाल पुँजी बजार ंसंघकी अध्यक्ष संरक्षणा चौधरी भन्छिन् ‘नेप्सेले अनलाइन सुरु गरेको छ, यो राम्रो काम हो, तर सबै लगानीकर्ताहरुलाई यसको प्रयोग गर्ने विधिको बारेमा तालिम अझै पुगेन । यसका लागि ब्रोकर कार्यालयमा पनि चाहियो, ताकी नजानेका लगानीकर्ताहरूले त्यहीँबाट अनलाइन प्रयोगको विधिका बारेमा जान्न सकुन ।’
लगानीकर्ताहरुलाई अनलाइन चलाउने विधिका बारेमा ब्रोकरबाटै जानकारी गराउन लागि नेप्सेले पहल गरिदिनु पर्ने उनको भनाई छ । यसका लागि केही दिनमा नै नेप्सेमा गएर छलफल गर्ने समेत अध्यक्ष चौधरीले जानकारी गराइन ।
अन्य केही लगानीकर्ताहरूले भने अनलाइनमा बैंक खाता नम्बर र डिम्याट नम्बर अनलाइमा इन्ट्रिगेसन गर्ने व्यवस्था नभएकाले प्रयोग गर्नु र नगर्नुमा कुनै फरक नभएको प्रतिकृया दिन थालेका छन् । अनलाइन अनिवार्य गरेको भए सबैले अनलाइन प्रयोग गर्ने थिए तर अहिले अर्को विकल्प भएकाले चासो कम भएको लगानीकर्ताहरुको बुझाई छ । अनलाइन प्रणालीको औपचारिक उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले कात्तिक २० गते गरेका थिए ।
SHARE YOUR THOUGHTS