भारतीय अमुल भित्राउन कानून संसोधन, डेरी उद्योगी भन्छन्, नेपाली उद्योग र किसान समाप्त हुन्छन् « Eglish Khabarhub

भारतीय अमुल भित्राउन कानून संसोधन, डेरी उद्योगी भन्छन्, नेपाली उद्योग र किसान समाप्त हुन्छन्



काठमाडौं । संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ दर्ता भएपछि डेरी उद्योगीहरुले आपत्ति जनाएका छन् ।

सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनीहरुले डेरीको क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न आग्रह गरेका छन् ।
नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले शनिवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरुलाई उठीवास गराउन चाहेको आरोप लगाए ।

उनले भने, ‘राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोवार छाडेर हामीलाई वैदेशिक रोजगारमा जानुपर्छ या उनीहरुको उद्योगमा काम गर्नुपर्छ ।’ डेरी क्षेत्रमा ३० अर्बको लगानी छ, एक अर्ब भन्दा बढी कर तिरिरहेका छौं, चाहिको क्वालिटीमा दुग्धजन्य पदार्थ उपलब्ध गराई रहेका छौं, चाहिने आवश्यकता पुरा गरिरहेका छौं भनि यहाँ किन चाहियो विदेशी कम्पनी उनले प्रश्न गरे ।

विदेश लगानी त्यो क्षेत्रमा भित्र्याउनु पर्छ जहाँ लगानी छैन, उद्योग छैन, काम गर्ने मान्छे छैन, उत्पादन छैन, डेरी क्षेत्र त आफैमा सक्षम हुँदा हुँदै पनि राज्यले विदेशी कम्पनी ल्याउन लागेको भनि उनले आपत्ति जनाए ।

नेपाल दुध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक इश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धारासायी हुने बताए । उनले भने, ‘सुन्दैछु भारतका अमुल कम्पनी नेपालमा उद्योग स्थापना गरिरहेको छ, यदि त्यस्तो हो भने नेपाली किसान र उद्योगीका लागि दुर्भाग्य हुन्छ, हामी अमुल कम्पनी भन्दा कुनै कुरामा कमजोर छैनौ ।’

दुधको क्षेत्रमा आत्मनिर्भर हुन गइरहेको बताउँदै उनले यस अवस्थामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी नेपालमा आयो भने यहाँका किसान र उद्योगी धारासायी हने दावी गरे ।

डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले नेपालीका डेरी उद्योग सक्षम भइसकेको कुरा सरकारले स्वयं स्वीकार गरिसकेको छ तैपनि त्यसमा विदेशी लगानी भित्र्याइरहेको छ यसले नेपालको डेरी उद्योग समाप्त हुने बताए । नेपालमा हाल एकहजार ८५० डेरी उद्योग क्रियाशिल रहेको बताउँदै उनले सबै उद्योग आआप्नो क्षेत्रमा सफल रहेको दावी गरे । देशको आवश्यकतालाई पूरा गरिरहेका छन् भने विदेशी कम्पनीको आवश्यक नरहेको उनले उल्लेख गरे ।

देशको कुल गृह्रास्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ त्यसमा दुध क्षेत्रले नौ प्रतिशत योगदान दिइरहेको बताउँदै उनले यसलाई धारासायी हुनबाट बचाउन सबैको कर्तव्य रहेको बताए ।

दुध क्षेत्रमा ३० अर्ब लगानी रहेको र २० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै उनले यस क्षेत्रबाट दैनिक तीन करोड रुपियाँ शहरबाट गाउँमा गइरहेको बताउनुभया । नेपालका डेरी उद्योग अमुल कम्पनी भन्दा कुनै रुपमा कमजोर नरहेको बताउँदै उहाँले भारत जस्तो यहाँका डेरीलाई राज्यले सुविधा दियो भने अमुल भन्दा पनि राम्रो काम गरेर देखाई दिने चुनौति दिए । भारतमा उत्पादन भएको दुध त्यहाँ खपत नभइरहेको अवस्थामा आमुलमार्फत नेपाल ल्याएर बेच्ने षड्यन्त्र भइरहेको बताउँदै उनले भारतले अफ्रिकी तथा सार्क देशलाई केन्द्रविन्दु बनाएर भारतले आफ्नो दुध खपत गरिरहेको बताए ।

एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले विभिन्न बहानामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी भित्र्याउने काम भइरहेको आरोप लगाए । यो क्षेत्रमा पाँच लाख भन्दा बढी किसान लागेका छन् तर यदि विदेशी लगानी आयो भने ती सबै किसानको हालत के हुने हो त्यसको बारेमा कसैले सोचेका छन्, उनले भने, यो क्षेत्रमा सबभन्दा बढी साना किसान रहेका छन्, ठूला कम्पनी आयो भने ती किसानको हालत के हुन्छ, ठूला कम्पनी आयो भने नेपालकै दुध प्रयोग गर्छ भने ग्यारेण्टी छैन ।’
सार्कमै नेपाल तेस्रो स्थानमा दुध उत्पादन गरिरहेको छ, यस्तो पोजिसन भएको थाह पाउँदा पाउँदै सरकारले विदेशबाट कम्पनी ल्याएर सबैलाई मास्ने काम राज्यबाट नै गरिरहेको आरोप उनले लगाए ।

विदेशी लगानीको डेरी नेपालमा किन ल्याउन लागेको छ, त्यो कुराको जवाफ सरकारले दिनुपर्छ, त्यसको औचितयको बारेमा भन्नुपर्छ, औचित्य नै पुष्टि नगरिकन लगानी भित्र्याउँदा त्यसले दीघंकालिन असर पुर्याउने बताए ।

डिडिसीका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले डेरी क्षेत्रमा विदेशी लगानी नआयोस् भनि कृषि मन्त्री पनि नचाहेको बताउँदै उनले केही सिमित व्यक्तिको चाहनाले यस्तो चलखेल भइरहेको बताए । ‘देशमा रहेका डेरी उद्योगलाई नै राज्यले राम्रोसँग सञ्चालन गर्यो, सेवा सुविधा दियो भने विदेशी कम्पनीको आवश्यकता नै पर्दैन,’ उनले भने, नेपाल डेरी क्ष्ोत्र समक्ष भइसकेका छन् यस अवस्थामा विदेशी कम्पनीको आवश्यकता छैन ।’

Publish on: