काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले बामपन्थी सरकारका मिठा भाषणले मात्रै विदेशी लगानी नभित्रिने बताएका छन् ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रममा पूर्वअर्थमन्त्री महतले लगानी सम्मेलन गर्नु आवश्यक भए पनि बामबन्थी सरकारले पर्याप्त तयारी गर्न नसकेका कारण लगानी भित्रिनेमा शंका व्यक्त गरे ।
‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन्,’ महतले भने ।
उनले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए ।
‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो, बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ,’ उनले भने ।
वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेको भन्दै महतले खुशी व्यक्त गरे ।
‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो, विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन्,’ उनले भने ।
विदेशी लगानी आकर्षणका लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो ।
‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ,’ उनले भने ।
महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उद्योग-धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी भएको र लगानीका लागि ऐन, कानुनहरु बनाएरमात्रै नहुने उनको धारणा छ ।
‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ, मिठा र राम्रा भाषण गरेर हुँदैन्,’ महतले भने ।
महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए ।
उनले भने,‘तर, हाम्रो सरकारले कुनै पनि कुरामा दक्षता देखाएन् ।’
त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए ।
महतले पाईला–पाईलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए । उनले भने, ‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिलेपनि सरकारले दिने सुविधा लिनै मुश्किल छ, कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’
तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समिक्षा गर्नुपर्ने धारणा राखे ।
‘के/कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन ? यसबारेमा समिक्षा गर्नुपर्छ । त्यतिवेला मैले पनि ‘कि-नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शन पनि लगानी आएको छैन् ।’ उनले भने ।
SHARE YOUR THOUGHTS