काठमाडौं । यही शुक्रबार र शनिबार सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डले सम्मेलनमा लगानीकर्तासामू ३० खर्ब ५० अर्ब रुपैयाँ बराबरका ६६ आयोजना प्रस्तुत गर्दैछ ।
लगानी सम्मेलन हुनुभन्दा अघि नै बोर्डले तयार पारेका केही प्रोजेक्टमा लगानीको प्रस्ताब आइसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
‘हामीले लगानी सम्मेलनमा प्रस्तुत गर्ने आयोजनाहरुको सूचि हाम्रो वेबसाइटमा राखेका छौं, वेभसाइडमार्फत नै लगानीको प्रस्ताव गर्न मिल्छ,’ सीइओ अधिकारीले क्लिकाण्डूसँग भने, ‘केही आयोजनाहरुमा अहिले नै वैदेशिक लगानीको प्रस्ताब आइसकेको छ ।’
उक्त प्रस्तावलाई लगानी सम्मेलनपछि मात्रै सार्वजानिक गर्ने उनले बताए ।
‘सम्मेलन हुनुअघि नै लगानीको प्रस्ताब आउनु हाम्रा लागि अत्यन्तै खुसीको कुरा हो,’ अधिकारीले भने, ‘यसले नेपालमा लगानीगर्न विदेशी लगानीकर्ताहरु आतुर छन् भन्ने संकेत गर्छ ।’
लगानीकर्ताहरुले १० हजार रुपैयाँ आवेदन शुल्क तिरेर लगानीको प्रस्ताव गरेका हुन् ।
यसअघि पनि सरकारले लगानी सम्मेलन गरेको थियो । सम्मेलनमा १४ खर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिवद्धता पनि आएको थियो । तर, अहिलेसम्म ८२ अर्ब रुपैयाँमात्रै वैदेशिक लगानी भित्रिएको छ ।
विगतको यो तीतो यथार्थलाई हेरेर यो लगानी सम्मेलनमा पनि प्रतिवद्धता आउने तर लगानी नआउने विश्लेषण गरिएकोछ ।
तर यो लगानी सम्मेलन विगतजस्तो नभएको सीइओ अधिकारी बताउँछन् ।
‘यो लगानी सम्मेलनमा प्रतिवद्धता आउँदैन, सीधै लगानीको प्रस्ताब आउँछ,’ उनले भने ‘यसपटक हामीले प्रतिवद्धताको अप्सन नै राखेका छैनौं ।’
विगतमा लगानीकर्ताहरुले प्रतिवद्धता गर्ने र पछि लगानी नगर्ने प्रवृत्ति थियो । यसअघिको लगानी सम्मेलन हुँदा पनि अधिकारी नै लगानी बोर्डको सीइओ थिए ।
‘विगतमा सिस्टम बनिसकेको थिए, प्रोजेक्ट बैंकहरु पनि थिएनन् र आएको प्रतिवद्धताको फलोअप पनि भएको थिएन,’ अधिकारीले भने, ‘त्यसैले प्रतिवद्धता भएको लगानी प्रस्ताब हुँदै लगानीसम्म आइपुग्न नसकेको हो ।’
SHARE YOUR THOUGHTS