१ पुस २०८२, मंगलबार

एनसेलले झस्काएका लगानीकर्तालाई सूर्य नेपालका प्रमुखको ब्रिफिङ- लाभांश लान अफ्ठेरो छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्य नेपाल प्रालिका प्रवन्ध निर्देशक अभिमान्यू पोद्दारले नेपालमा लगानी गरेर कमाएको नाफा विदेश लान कुनैपनि समस्या नभएको बताएका छन् ।

काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको बक्ता रहेका पोद्दारले आफूले सहजै लाभांश विदेश लगिरहेको जानकारी उपस्थित लगानीकर्ताहरुलाई गराए ।

इन्डो–नेपाल–युकेको संयुक्त लगानीमा ३५ वर्षदेखि सूर्य नेपाल प्रालि सञ्चालित छ ।

‘मसँग नेपालमा लगानी गरेको ३५ वर्षको अनुभव छ,’ पोद्दारले भने, ‘आजसम्म एकदिन पनि लाभांश विदेश लान समस्या भोग्नु परेको छैन ।’

कागजात मिलाएपछि सहजै नाफा विदेश लान सकिने उनले जानकारी दिए ।

एनसेलको लाभांस विदेश लैजाने सम्बन्धमा निकै ठूलो विवादा भएको थियो । पुँजीगत लाभकर छली गरेका कारण सरकारले एनसेलको लाभांश रोकेको पनि थियो ।

एनसेलको उदाहारण देखाउँदै लगानीकर्ताहरुको मनमा नेपालमा लगानी गरेर कमाएको नाफा सहजै विदेश लैजान पाइँदैन कि भन्ने आशंका थियो ।

तर, सूर्य नेपालका प्रमुखले लगानीकर्ताको आशंकालाई आफूले सहजै लगिरेको उदाहारण दिँदै सम्बोधन गरेका छन् ।

उनले एकद्धार प्रणालीमार्फत् लाभांश विदेश लान पाउनुपर्ने माग गरेका छन् ।

‘नेपालबाट लाभांश लान सजिलो छ, तर धेरै निकायको स्वीकृति लिनुपर्ने व्यवस्था चाहीँ केही झन्झटिलो छ,’ पोद्दारले भने, ‘सरकारले यसलाई सुधार गरोस् ।’

सूर्य नेपालले सूर्य चुरोट, तीर सलाई, मंगलदीप अगरबत्ति, जोन प्लेयर ब्राण्डको कपडा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । सूर्य नेपाल नेपालमा अत्याधिक नाफा कमाउने र धेरै कर तिर्ने ठूला कम्पनीहरुको सूचीमा पर्छ ।