काठमाडौं । उद्योग मन्त्रालयले बुधबारदेखि ‘एकल विन्दु सेवाकेन्द्र’को सुरुवात गरेको छ ।
त्रिपुरेश्वस्थित उद्योग विभागको भवनमा उद्योगमन्त्री मातृका यादवले उद्घाटन गर्दै आर्थिक सुशासनका लागि एकल विन्दु सेवाकेन्द्र सुरु गरिएको बताए ।
मुलुकमा भ्रष्टाचार अझै पनि व्याप्त रहेको भन्दै मन्त्री यादवले भने, ‘पहिले टेबुल मुनीबाट सिधै हुन्थ्यो भने अहिले कार्यालयबाहिर सेटिङ मिलाएर लिने चलन बढेको छ, तर यसमा वर्तमान सरकार समाप्त पार्न लागेको छ ।’
धेरै ठाउँ भौतारिँदा भ्रष्टाचार पनि बढेको थियो, तर अब यसले भ्रष्टाचार सुधारमा पनि भूमिका खेल्ने गरेको उनले बताए ।
‘विशेष चियापानका नाममा भ्रष्टाचार मौलाइरहेको छ,’ उनले भने ।
एकलविन्दू सेवाकेन्द्र सेवाको सुरुवातसँगै अब लगानीकर्ताहरु विभिन्न ठाउँमा भौतारिनु पर्दैन्, सबै काम यही केन्द्रबाट हुन्छ ।
‘पहिले लगानीकर्ताका लागि निकै झण्झटिलो थियो, धेरै ठाउँ जानु पथ्र्यो, तर अब त्यस्तो हुँदैन, सबै सेवा यहीभित्रबाट हुन्छ,’ उनले भने ।
वर्तमान सरकारले लगानीका लागि योग्य वातावरण सिर्जना गरेको र सोहीअनुरुप सेवाकेन्द्रको सुरुवात गरिएको उनले प्रष्टाए ।
मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले सेवा केन्द्रमा १२ वटा युनिट रहने जानकारी दिइन् । जसबाट १२ वटा कार्यालयको काम हुनेछ ।
‘लगानीकर्ताका लागि बाहिर बस्न र चिया कफी खानका लागि ठाउँ बनाइनेछ र पहिलो सूचना पनि उहाँहरुले त्यहीबाट गर्नुहुनेछ’ उनले भनिन् ।
सेवा केन्द्रलाई केही समयपछि डिजिटल प्रविधिमा लैजाने तयारी समेत गरिरहेको उनले बताइन् ।
सेवाकेन्द्र अन्तर्गत उद्योग दर्ता ईकाइ, भन्सार तथा राजस्व ईकाइ, वातावरण ईकाइ, प्रशासन तथा कानूनी ईकाइ, पूर्वाधार ईकाइ, जग्गा सहजीकरण ईकाइ, विदेशी विनिमय सहजीकरण ईकाइ, भिसा सहजीकरण ईकाइ, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ईकाइ रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्