बेलायतको आकर्षक जागिर छाडेर तीन युवाले सुरु गरे ‘लन्ड्रिपार्क’, ७५ लाखको लगानी « Eglish Khabarhub

बेलायतको आकर्षक जागिर छाडेर तीन युवाले सुरु गरे ‘लन्ड्रिपार्क’, ७५ लाखको लगानी



काठमाडौं । बेलायतमा आकर्षक तलबमा काम गरिरहेका युवाले काठमाडौंको मनहरा फाँटमा लन्ड्रिपार्क उद्योग सुरु गरेका छन् । दैनिक हजारौं युवाहरु सुरक्षित करिअरको खोजीमा विदेशी भूमिमा जान आतुर र संघर्षरत रहेको समयमा स्वदेशमै उद्यम सुरु गरेर देशमै काम गर्न सकिन्छ भन्ने उदारणीय बनेका छन् ।

उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. १० हँडियाका सन्तोषसिंह कार्कीले मनहरा फाँटमा लन्ड्रिपार्क सुरु गरेका हुन् । ७ वर्ष बेलायत बसी स्वदेश फर्केका उनले आफ्नै देशमा केही गर्ने चाहले व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

तीनजना युवाहरू मिलेर सञ्चालनमा ल्याएको लन्ड्रिपार्कमा ७५ लाख रुपैयाँ लगानीमा उद्योग स्थापना गरेका हुन । उनलाई सुनसरीका दुई युवाहरु प्रविण पोखरेल र सुरज बस्नेत साथ दिएका छन् ।

बस्नेत पनि बैदेशिक रोजगारीबाट केही समय अगाडि स्वदेश फर्केका हुन । ‘स्वदेशमै पनि काम गर्न सकिन्छ भन्ने मान्यताले विदेशी भूमि त्यागेर नेपालमै उद्योग स्थापना गरेको बस्नेतको भनाइ छ । त्यसो त सिर्जनशिल सोच भएका अर्का युवा प्रविण पोखरेलको साथले पनि विदेश छाडेर आएका यी युवालाई हौस्याएको छ ।

‘हामी तीन जना नै आत्मीय सम्बन्धलाई व्यवसायमा परिणत गरेका हौं,’ पोखरेलले भने, उनले भने ‘लन्ड्रिपार्क व्यवसायलाई नेपालकै नमूना उद्योगको रूपमा परिणत गर्नेछौं ।’

कपडा धुलाइसँग सम्बन्धित यस व्यवसायमा अमेरिकामा निर्मित तीन वटा आधुनिक कमर्सियल वासिङमेसिन राखिएको छ । त्यसमध्ये एउटा वेट क्लिन मेशिन छ । प्रिमियम कपडाहरूलाई सुरक्षित तरिकाबाट धुनका लागि वेट क्लिन मेसिन ल्याइएको हो । यो मेसिन नेपालमा पहिलो पटक आफूहरूले ल्याएको उनीहरूले दाबी छ ।

सेवालाई पारदर्शी बनाउनका लागि ग्राहकका आँखै अगाडि कपडाको धुलाई गरेर दिने गरेको उनीहरुले बताए ।

‘कपडा धुन आउने व्यक्तिका लागि समय सदुपयोग गर्नका लागि वाइफाइ जडान गरिएको छ, उद्योगभित्रै चिया, कफी र चिसो पिउने व्यवस्था समेत गरिएको छ’ सञ्चालक कार्कीले भने ।

कम्पनीले ग्राहकसँग कपडा ल्याउनका लागि २ वटा कलेन्सन सेन्टर समेत स्थापना गरिएको छ । कपडा ल्याउन र पुर्याउनका लागि भ्यानको समेत व्यवस्था छ ।

लन्ड्रिपार्कले सर्वसाधारणको अतिरिक्त व्यवसायिक संस्थाहरू जस्तै मेसिन नभएका ड्राइक्लिनर्स, होटल, स्कूल, कलेज, बैंक, फाइनान्स, इन्स्योरेन्स, एयरलाइन्स र सहकारीका युनिफर्महरूलाई समेत आफ्नो सेवा लक्षित गरेको छ ।

सहुलियत ढंगबाट कपडा धुने व्यवस्था रहेको उक्त संस्थाहरूको कपडा पुर्याउने र ल्याउने व्यवस्था समेत गरेको उनीहरूले जानकारी दिएका छन् ।

‘यो क्षेत्रमा हामी नयाँ नै हौं तर पनि हामी नयाँ तरिकाका साथै जिम्मेवार र व्यवसायिक ढंगवाट ग्राहकलाई सेवा दिन्छौं’ उनीहरूले भने ।

लन्ड्रिपार्कमा लगानी बढाउँदै र यसको गुणस्तरीय र प्रभावकारी सेवालाई देशव्यापी बनाउने उनीहरुको योजना छ । यसलाई नमूना र प्रतिष्ठित ‘ब्राण्ड’को रूपमा विकास गर्दै देशका प्रमुख शहरमा चाँडैनै विस्तार गर्ने उनीहरुको लक्ष्य छ ।

अहिले ५ जनालाई प्रत्यक्ष रोजगारी र अन्य केहीलाई अप्रत्यक्ष रोजगारी दिइरहेको यो यस व्यवसायले राज्यलाई आर्थिक गतिविधि र रोजगारीको माध्यमबाट राम्रो योगदान पु¥याउने विश्वास लिइएको छ ।

स्वदेशमै उद्यम गर्दा मुलुकमा आर्थिक गतिविधि पनि बढ्ने र केहीलाई रोजगारी समेत दिने सकिने भएकाले पनि उनीहरू स्वदेशमै उद्यम गर्न चाहेको बताउँछन् ।

विदेशबाट फर्केका युवाहरूलाई उद्यम गर्न सरकारले प्रोत्साहित नीति ल्याएकाले पनि आफूहरू विदेशको आकर्षक तलब छाडेर स्वदेशमै उद्यम गर्न हौसिएको बताए ।

व्यवसायलाई विस्तार गर्न आफूले पनि सरकारको नीतिअनुसार कर्जाका लागि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निवेदन दिएको सञ्चालक कार्कीले बताए । त्यस्ता युवालाई विना धितो १५ लाखसम्म सस्तो व्याजदरको कर्जा उपलब्ध गराउने सरकारले नीति अघि सारेको छ । तर सरकारले ल्याएको त्यस्तो नीति र योजनामा लक्षित वर्गको सहज पहुँच हुनुपर्ने लण्ड्रिपार्कका सञ्चालक कार्की बताउँछन् ।

‘आर्थिक आर्जनको दृष्टिले युरोपको कमाइसँग नेपालको कमाइको तुलना नहोला तर, स्वदेशमै केही काम गर्न सकियो भने त्यो सन्तुष्टि विदेशमा पाइँदैन’ कार्कीले थपे ।

 

Publish on: