काठमाडौं । नेपालमा साउथ एसियन फेडेरेसन अफ एक्सचेन्ज (सेफ)को सम्मेलन हुने भएको छ । यही मे महिनाको ३१ तारिखमा आयोजना हुने सम्मेलनमा सेफको साधारण सभा हुने.छ । जसमा सेफका सदस्य रहेका स्टकका कार्यकारी प्रमुखहरुको बैठक समेत हुनेछ ।
सम्मेलनबाट सेफको आगामी २ वर्षका लागि नेपालले अध्यक्षता गर्ने सम्भावना छ । साथै हाल पाकिस्तानको इस्लामावादमा रहेको सेफको सचिवालय पनि नेपालमा सार्ने विषयमा निर्णय हुने सम्भावना छ । अहिले सेफको अध्यक्षता बम्बै स्टक एक्सचेन्जनले गरिरहेको छ ।
सेफमा साउथ एसियाका नेपालसहित १३ वटा स्टकका प्रमुखहरु सदस्य छन् । साधारण सभा तथा कार्यकारी प्रमुखको बैठकमा पाकिस्तान स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत रिचर्ड मोरिन आउने नआउनेमा अझै टुंगो लागेको छैन् । तर अन्य १० वटा स्टकका प्रमुखहरु नेपालमा आउने बताइएको छ ।
सेफमा रहेका सदस्यमध्ये नेपाल स्टक एक्सचेन्ज र मर्कन्टाइल स्टक एक्सचेन्ज नेपालमै छन् ।
सम्मेलनमा भाग लिन बम्बै स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत आशीषकुमार चौहान, ढाका स्टक एक्सचेन्जका म्यानेजिङ डाइरेक्टर केएएम मजदुर रहमान, कोलम्बो स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत राजिभा बन्दरानाइके नेपाल आउनेछन् ।
त्यस्तै, चटगांव स्टक एक्सचेन्जका अध्यक्ष डा. ए.के. अब्दुल्ला मोमन, रोयल सेक्युटिरिज एक्सचेन्ज अफ भुटानको प्रमुख कार्यकारी अधिकृत दोर्जे फोन्तोसो, माल्दिभ्स स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत मोहम्मद औसान लाथेफ, पाकिस्तान मर्कन्टाइल एक्सचेन्जका म्यानेजिङ डाइरेक्टर इजाज अलि शाह, सेन्ट्रल डिपोजिटरी बंगलादेश लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शुभ्रकान्ति चौधरी, नेशनल क्लियरिङ कम्पनी अफ पाकिस्तानका प्रमुख कार्यकारी अधिकृत मोहम्मद लुकमान र साउथ एसिएन फेडियरेसन अफ एक्सचेन्जका महासचिव अफताब अचमदद पनि नेपाल आउनेछन् ।
सम्मेलनमा मर्कन्टाइल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन पनि सहभागी हुने नेप्सले जानकारी दिएको छ । यही मे ३१ मा हुने साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने नेप्सेले जनाएको छ ।
सेफमा प्राइमरी सदस्यमा १० वटा संस्था, एसोसिएटेड सदस्यमा ४ वटा र एफिलिएटेड सदस्यमा ३ वटा र एफिलिएटेड एसोसिएसनमा ४ वटा संस्था सदस्यका रुपमा छन् । सम्मेलनमा दक्षिण एसियाको सेयर बजारको विषयमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनका लागि आवश्यक व्यवस्थापकीय काम भइरहेको नेप्सेले जनाएको छ ।
SHARE YOUR THOUGHTS