एक वर्षमै घट्यो अर्थमन्त्री खतिवडाको क्रेज, निजी क्षेत्र भन्छ- उत्साह छैन « Eglish Khabarhub

एक वर्षमै घट्यो अर्थमन्त्री खतिवडाको क्रेज, निजी क्षेत्र भन्छ- उत्साह छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडालाई अर्थमन्त्री बनाएको दिन नेपालको निजी क्षेत्रमा निकै ठूलो उत्साह थियो । बुझेका अर्थमन्त्री आए, अब चाहीँ केही हुन्छ भनेर ।

खतिवडाले ०७५ जेठ १५ गते अर्थमन्त्रीका रुपमा पहिलोा बजेट ल्याए । बजेटअघि निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुलाई सोध्दा उनीहरुको जवाफ हुन्थ्यो, ‘बजेटप्रति हामी अत्यन्तै उत्साहित छौं ।’

उनै खतिवडाले बुधबार दोस्रो बजेट ल्याउँदैछन् । र, अहिले निजी क्षेत्रले कुनै पनि उत्साह नभएको प्रतिक्रिया दिएको छ ।

अघिल्लो वर्ष पाँच वर्षे बलियो सरकारको बजेट प्रस्तुत अगाडि निजी क्षेत्र निकै नै उत्साहित थियो ।

तर, बजेटमा उल्लेख भएका उद्योग व्यवसायलाई सुविधा दिने विषय कार्यान्वयन भएन । विकास खर्च समेत समयमा हुन सकेन भने भएका विकास निर्माण आयोजनाको भुक्तानी समेत रोकिएको छ ।

अर्थमन्त्री खतिवडाले अर्थसमितिको बैठकमा स्रोतले धानेसम्म पपुलिष्ट बजेट ल्याउने भनेपछि करको बोझ थपिने आंशका निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बजेटमा उल्लेख भएका विषय कार्यान्वयन नहुनु समस्या भएको बताउँछिन् ।

‘चालु अर्थिक वर्षको बजेटमा उल्लेख भएका राम्रा कुराहरु पनि कार्यान्वयन हुन सकेनन्, सरकारले बजेटमा घोषणा भएका कार्यक्रम कार्यान्वयन समेत गर्नुपर्यो,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन् ।

अर्थमन्त्री डा युवराज खतिवडा आफैंले समेत आगामी आर्थिक वर्षको सिद्दान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामाको बैठकमा जवाफ दिँदै यो वर्षको बजेट कार्यान्वयन गर्न नसकेको कुरा स्वीकार गरेका थिए ।

निजी क्षेत्र यो वर्ष प्रस्तुत हुन लागेको बजेटमा उत्साहित नभए पनि अझै आशावादी भने छ ।

‘गतवर्ष अर्थमन्त्रीले ल्याएको बजेट निजी क्षेत्रको लागि धेरै राम्रो थियो, कार्यान्वयन नहुँदा समस्या आएको हो, यो वर्ष अर्थमन्त्रीले पपुलर बजेट ल्याउने नाममा करको बोझ थप्लान भन्ने डर छ,’ एक व्यवसायीले भने ।

यद्यपी बजेट कार्यान्वयन नहुने रोग हट्ला भन्ने विश्वास भने निजी क्षेत्रसँग छैन ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोर यो पटकको बजेटबाट आफुहरु आशावादी भएको बताउँछन् ।

‘व्यापारघाटा अहिलेको मुख्य समस्या हो, त्यसलाई हटाउने र निर्यातलाई प्रोत्साहन गर्ने बजेट आउने अपेक्षा छ,’ अध्यक्ष मोरले भने ।

Publish on: