काठमाडौं । यो साताको पहिलो दिनदेखि नैं सेयर बजारमा दोहोरो अंकको गिरावट आउने क्रम बढेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटमा पुँजीगत लाभकरलाई ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेलगत्तै पुँजी बजारमा उछाल आउँछ भन्नेहरुको कमी थिएन तर साताको पहिलो दिनको दोहोरो अंकको गिरावट लगानीकर्ता बजेटमा व्यवस्था भएको लाभकरको नीतिले सन्तुष्ट नरहेको जस्तो देखिएको छ ।
सोमबार नेप्से मापन गर्ने सूचक १२.८४ अंकले घटेर १२९२.८४ बिन्दुमा रोकिएको छ । सेयर बजारले लगानीकर्ताहरुको १३०० को मनोवैज्ञानिक रेखा छोडेको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६४ अंकले घटेर २७५.४८ बिन्दुमा रोकिएको छ ।
१७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता सेयर ६९ करोड ८७ लाख ३९ हजार ७०६ रुपैयाँमा किनबेच भएको छ । आइतबार भन्दा सोमबार कारोबार रकममा गिरावट आएको छ । आइतबार ७५ करोड ३२ लाख ५७ हजार २०९ रुपैयाँको सेयर किनबेच भएको थियो ।
सोमबारको १२ समूहको कारोबारमा सबैमा गिरावट देखिएको छ । सबै भन्दा बढी निर्जीबन बीमा समूहको उपसूचक ६७.६४, उत्पादन तथा प्रशोधन ५४.७८, जीवन बीमा ५४.७३ तथा बैंकिङ समूहको उपसूचक ११.०७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनआईसि एसिया बैंकले अग्रता लिएको छ । बैंकको ९ करोड ६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र प्रभु बैंक रहेका छन् ।
सोमबारको कारोबारमा तारागाँउ रिजेन्सी होटल, गुँरास लघुवित्त वित्तीय संस्था, कन्काई विकास बैंक, रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन भने पाँचथर पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, वल्र्डमर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS