काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकैरुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ ।
प्राधिकरणले ३ सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेसनको परीक्षण गरी संचालन (चार्ज)मा ल्याइएको हो ।
सप्तरीको दक्षिण/पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमशः बोदेबर्साईन र पालुङटार सबस्टेसन निर्माण गरिएको हो ।
बाँकेको धामपुरमा निर्माण भएको ३३/११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७को जेठबाट धामपुर सबस्टेसन निर्माण सुरु गरेको थियो ।
सबस्टेसन संचालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका समस्या झेल्दै १०/११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याएका छौं,’ घिसिङले भने, ‘मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छौं ।’
नेपाल सरकार, प्राधिकरणको लागनी र दातृ निकाय एसियाली विकास बैक (एडीबी)को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेसको निर्माण भइरहेको छ ।
एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत नारायणी नदीपूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् ।
त्यसमध्ये चालु आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा ५ वटा सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताए ।
‘सप्तरीको दक्षिण-पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, वत्ति नबल्ने लगायतका समस्या झेल्दै आएका रहेछन् । सोमबारबाट बोदेबर्साईन सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि सबै समस्या समधान भयो,उपभोक्ताहरु खुसियाली मनाउन सबस्टेसनमै आए, यस्तै खुसियाली सबै ठाउँमा देखिएको छ,’ ढकालले भने ।
नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सबस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका करिब ९५ हजार जनता लभान्वित हुने छन् ।
सबस्टेसनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंहले बताए ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ ।
यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।
SHARE YOUR THOUGHTS