काठमाडौं । अर्थमन्त्ती डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ मा मानव पूँजी विकासका लागि २२ प्रतिशतसम्म रकम वृद्धि गरेको बताएका छन् । बुधबार राजधानीमा विश्व बैंकले आयोजना गरेको मानव पूँजी फोरम २०१९ कार्यक्रममा बोल्दै मानव पूँजीको विकासका लागि बजेटमा प्राथमिकतामा राखिएको बताए ।
उनले भने, ‘यस वर्षको बजेटमा अन्य क्षेत्रमा औसत १६ प्रतिशतले बजेट बढाउँदा शिक्षा, स्वास्थ्य र खानेपानी गरी तीन वटा क्षेत्रको विकासमा २१ देखि २२ प्रतिशतसम्मले बजेट बढाएका छौं, यसले मानव पूँजीको विकासमा सहयोगी हुनेछ ।’
त्यस्तै, सामाजिक सुरक्षाका लागि मानिस जन्मेदेखि मृत्युसम्मको जीवनचक्रलाई पनि बजेटमार्फत सम्बोधन गरेको बताए । साथै रोजगारी सिर्जनाका लागि पनि बजेटले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
निर्वाचनपछि स्थायी सरकार आएको र यसले दीगो विकासका लागि आधार बनाइरहेको समेत बताए । संविधानले व्यवस्था गरेको मौलिक हक अन्तर्गत निशुल्क तथा अनिवार्य शिक्षा, स्वास्थ्यका लागि बजेटले सम्बोधन गरेको उनले बताए ।
सफा खानेपानी भएन भने बालबालिका बिरामी पर्छन, जसले विद्यालय जाने उमेरका बालबालिका समस्यामा पर्छन् । शिक्षाको गुणस्तर पहुँच बढाउन पनि स्वच्छ खानेपानीको प्रत्याभूत हुनु जरुरी रहेको उनले बताए ।
डा. खतिवडाले मुलुक विकासका लागि कुनै न कुनै तरिकाले नागरिकले योगदान गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले आवश्यक प्रणाली विकास गर्ने बताए ।
उनले भने, ‘कसैले कर तिरेर त कसैले अन्य तरिकाले पनि योगदान गरिरहेकै हुन्छन मानव पूँजीको विकासका लागि त्यो महत्वपूर्ण छ ।’
कार्यक्रम भुटानका अर्थसचिव नीम दोर्जीले पनि मानव पूँजीको विकास महत्वपूर्ण रहेको बताएका थिए ।
SHARE YOUR THOUGHTS