काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् ।
भेटमा अध्यक्ष दाहालले नेपालको पुँजी बजारको विषयमा निकै चासो देखाउँदै विभिन्न जिज्ञासा राखेको पोखरेलले बताइन् ।
अध्यक्ष दाहाललाई उदृत गर्दै पोखरेलले भनिन्, ‘अध्यक्षज्यूले मैले मेयर बजारको लागि के गर्न सक्छु, भन्नुहोला म मेरो ठाँउबाट सहयोग गर्छु’ भन्नु भएको छ ।
भेटमा आफुले आगामी आवको बजेटले नसमेटिएका विषयलाई मौद्रिक नीतिमा राख्न पहल गरिदिन आग्रह गरेको पोखरेलले क्लिकमान्डुलाई जानकारी गराइन् ।
देशले नचिनेका अर्थमन्त्रीले हाम्रो एजेण्डालाई चिन्नुभयो, अनि लाभकर ५%मा झर्योः राधा पोखरेल
उनले भनिन् ‘सेयर बजारमा पहिलाको भन्दा धेरै सुधार भएको छ, सरकारले पनि बजारको हितमा निकै काम गरेको छ, अझै केही विषय बजेटले समेटन सकेको छैन, त्यसलाईल मौद्रिक नीतिमा समावेश गर्न पहल गर्न भनेको छु ।’
भेटमा अध्यक्ष दाहालले मौद्रिक नीतिमा के-के कुरा समावेश गर्नु पर्ने हो त्यसको जानकारी गराउन आग्रह गरेका छन् । त्यसको लागि संघको तर्फबाट केही दिनमा नै मौद्रिक नीतिमा राख्नु पर्ने विषय लिखितरुपमा पेश गर्ने दाहाललाई जानकारी गराएको अध्यक्ष पोखरेलले बताइन् ।
अघिल्लो मौद्रिक नितिले बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन गर्न नसकेको संघको ठहर छ । संघले आगामी आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नितिमा समावेस गर्न उठाएका बुँदाहरु यस्ता रहेका छन् ।
१) सेयर धितो कर्जामा लगाइएको चर्को बैंक ब्याज घटाईनु पर्छ ।
२) सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनु पर्छ ।
३) सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन टे«डिङ सिस्टम पुर्याउनु पर्छ ।
४) आरडब्लुएसलाई व्यापक बनाईनु पर्छ ।
५) सेयर शिक्षा तथा तालिम जस्ता कार्यक्रमहरु देशब्यापी बनाउनेतर्फ ध्यान दिइनुपर्छ ।
६) बजेटमार्फत गैरआवासिय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याईनु पर्छ ।
७) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ । त्यसैगरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नु पर्छ ।
८) पूँजीबजारमा अधिक सप्लाई रोेक्ने संयन्त्र भएन, त्यसैले बजामा रहेका ठूला–ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नु पर्छ ।
९) समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरी कडा जरिवानाको ब्यवस्था गर्नुपर्छ ।
१०) बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाई समय समयमा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।
११) बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले मौद्रिक नीतिमार्फत बैंकहरुको सीसीडी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत गर्नुपर्छ ।
१२) लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कल पनि हो । केही हदसम्म गत बर्षको मौद्रिक नीति मार्फत सम्बोधन गरिएको थियो । यसलाई थप वृद्धि गरि मार्जिन कलमूक्त लगानिकर्ता बनाउनु पर्छ ।
१३) जसरी बैंकहरुमा बिग मर्जरको होड चलाईएको छ त्यसैगरी लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ । नयाँ लाईसेन्स वितरण रोक्नै पर्छ ।
SHARE YOUR THOUGHTS