संचालकको विवाद समाधान नभए राष्ट्र बैंकले सनराइजको बोर्ड भंग गर्ने « Eglish Khabarhub

संचालकको विवाद समाधान नभए राष्ट्र बैंकले सनराइजको बोर्ड भंग गर्ने



काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्तीको विषयलाई लिएर चर्केको विवादले संचालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगको छ ।

सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर चारवर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको थियो ।
संचालकहरुको विरोध र सिइओ नियुक्ती प्रक्रिया संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एकल निर्णयबाट भएको भन्दै संचालक सैलेन्द्र गुरागाईँले सार्वजनिक रुपमा नै असन्तुष्टी जनाएका छन् ।

असार २ गतेदेखि सिइओको कार्यभार समाल्नुपर्ने श्रेष्ठले संचालक समितिमा देखिएको विवादको कारण सिइओ नहुँने मनस्थिती बनाएका छन् । बैंकले नेप्सेलाई पत्र पठाएर तत्कालको लागि कामूको जिम्मेवारी आशा राणा अधिकारीलाई निरन्तरता दिने जनाएको छ ।

राष्ट्र बैंकले सनराइज बैंकमा भएको विवादलाई नजिकबाट हेरेको भन्दै विवाद साम्य नभएमा संचालक समितिनै भंग गर्न सक्ने सम्मको चेतावनी दिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सनराइजको संचालक समितिमा बरिष्ठ व्यक्तिहरु रहेको र आफ्नो प्रतिष्ठालाई ख्याल गरेर अगाडि बढ्नेमा आफुहरु विस्वस्त रहेको बताए ।

सनराइज बैंकमा लफडा, नियुक्त भएका सिइओ श्रेष्ठले कार्यभार सम्हाल्न सकेनन्

‘बरिष्ठ व्यक्तिहरुको विवाद अब बढ्दैन भन्ने हाम्रो अनुमान छ,उहाँले निक्षेपकर्ताको हिद हेर्दै पाको निर्णय लिनुहुन्छ,सानो कुराको विवाद हल गर्नुहुन्छ भन्ने हामी अनुमान गर्छौ,’ राष्ट्र बैंकका प्रवक्ता निरौलाले भने ।

राष्ट्र बैंकले संचालक समितिका सदस्यलाई विवाद नमिलेमा संचालक समितिमा भंग गर्न सक्ने अनौपचारिक रुपमा चेतावनी दिएको छ ।

राष्ट्र बैंकले संचालक समिति भंग गर्नुपर्ने अवस्था आउन नदिनको लागि संचालकलाई सचेत गराएको छ ।

राष्ट्र बैंकलाई यसरी बैंक तथा वित्तीय संस्थामा विवाद बढ्दा बैंकको संचालक समिति भंग गर्ने अधिकार छ । यसरी राष्ट्र बैंकले व्यवस्थापन टोली नै खटाएर बैंकलाई अल्पकालिन रुपमा समाल्न सक्छ ।

विगतमा पनि विभिन्न बैंकमा राष्ट्र बैंकले संचालक समितिलाई भंग गरेर बोर्डमा नियन्त्रण लिएको थियो ।

सनराइज बैंकको संचालक समितिमा मोतिलाल दुगड अध्यक्ष छन् । यस्तै सदस्यमा गुरागाईँ बाहेक,बच्चराज तातेड,मालचन्द्र दुगड,शारदा शर्मा,दिपक नेपाल र ओमकृष्ण जोशी रहेका छन् ।

सनराइज बैंकमा चारवर्षे कार्यकाल पुरा गरेर रत्नराज बर्जाचार्य बाहिरिएपछि सिइओ पद खाली थियो ।

Publish on: