काठमाडौं । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पुँजी बजारमा एक अर्ब रुपैयाँ भित्रने बताएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आयोजना गरेको मार्जिन कारोबार सेवा अनुमती प्रदान कार्यक्रममा यस्तो बताएका हुन ।
मार्जिन कारोबार गर्ने कम्पनीको नेटवर्थ ५ करोड हुनै पर्ने र त्यसको दोब्बर दिन पाउँदा १० करोड हुने र अनुमति पाएको ८ वटा ब्रोकरले ८० करोड दिने छन् । उनले भने ‘कति कम्पनीको ५ करोड भन्दा बढी छ, त्यसैले एक अर्ब रुपैयाँ पुँजी बजारमा आँउछ ।’
यो काम सम्भवत चालु आर्थिक वर्ष भित्रैबाट सुरु हुने उनको भनाई छ । कार्यक्रममा लामो समयपछि सेयर बजारमा एउटा इटा थपिएको बताए । ब्रोकरले मार्जिन कारोबार सुरु गरेलगत्तै पुँजी बजारलाई भाइब्रेन्ट बनाउने उनको तर्क छ । उनले भने ‘मार्जिन कारोबार सुरु गरेपछि बजारमा सुधार आउने सबैले अपेक्षा गरिएको छ ।’
कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अन्य ब्रोकर कम्पनीहरुलाई पनि मार्जिन कारोबारमा सहभागी हुन आग्रह गरेका छन् । नेप्सेमा आएदेखि धेरै सुनौला काम गरेको र मार्जिन कारोबार सुरु भएपनि बजारलाई झनै सुनौलो बनाउने उनको तर्क छ ।
ब्रोकरहरुले मार्जिन सेवा सुरु गरेपनि सबै लगानीकर्ताले भने नपाउने उनको भनाई छ । उनले भने ‘मार्जिन सेवा लिन पनि ब्रोकरहरुको ब्याज तिर्ने क्षमता हुनुपर्छ, ब्रोकरहरुले पनि बैंकले जस्तै ऋण तिर्न सक्नेलाई मात्र यो सेवा दिन्छन ।’
यो सँगै अब पुँजी बजारले थप गति लिने उनको भनाई छ । नेप्सेले मार्जिन कारोबार सेवा दिन ८ वटा ब्रोकरलाई प्रमाणपत्र दिएको छ । जसमा क्रिष्टल सेक्युरीटीज(५०), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), सेक्युर्ड सेक्युरीटीज(३६), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६), नेपाल स्टक हाउस(१४) र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
SHARE YOUR THOUGHTS