२९ मंसिर २०८२, आइतबार

बिग मर्जरमा अधिकांश बैंकको रणनीतिः मौद्रिक नीतिसम्म पर्खिने, त्यसपछि मात्रै निर्णय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र बैंकका गभर्नरले मौद्रिक नीति अघि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउनका लागि बैंकका अध्यक्ष र सीइओलाई निर्देशन दिएको ५ दिन भयो । यो अवधिमा धेरै बैंकले आपसमा मर्जरका लागि कुराकानीलाई तीब्र बनाएका छन् ।

केही बैंकले त मौद्रिक नीतिअघि मर्जरको कमिटमेन्ट होइन, सैद्दान्तिक समझदारी नै गर्ने तयारी गरिरहेका छन् । जुन राष्ट्र बैंकको पहिलो चाहना पनि हो ।

ग्लोबल आइएमइ, प्राइम, मेगा, सिभिल, सेञ्चुरी लगायतबा बैंकहरु सकेसम्म मौद्रिक नीतिअघि नै मर्जरको सैद्दान्तिक समझदारी गर्ने तयारीमा लागेका छन् ।

सरकारी बैंक र ५१ प्रतिशतभन्दा बढी विदेशी लगानी भएका बैंकलाई राष्ट्र बैंकको मर्जर नीतिले नछुने भएकाले उनीहरु चुपचाप छन् ।

त्यसबाहेकका अधिकांश बैंकहरु भने राष्ट्र बैंकले असार अन्तिममा ल्याउने मौद्रिक नीति हेरेपछि मात्रै मर्जरको निर्णय गर्ने रणनीति बनाएका छन् ।

‘हामी नीतिगतरुपमा फोर्स गर्दैनौं, इन्करेज गर्छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर, व्यवहारिकरुपमा फोर्स गर्छौं ।’

यो रिपोर्ट तयार पार्दा हामीले डेढ दर्जन बैंकका अध्यक्ष, सञ्चालक, सीइओलाई सोधेका थियौं ‘मौद्रिक नीति अघि नै मर्जरको कमिटमेन्ट पठाउनु हुन्छ ?’

जवाफमा उनीहरुले भनेका थिए, ‘जोडी खोजिरहेका छौं भनेर राष्ट्र बैंकमा बुझाउँछौं । र, मौद्रिक नीति नआएसम्म चुपचाप बस्छौं । मौद्रिक नीतिले कस्तो नीति अख्तियार गर्छ त्यसै अनुरुप अघि बढ्छौं ।’

राष्ट्र बैंकले असार २७ गते आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति ल्याउँदैछ ।

गभर्नर डा. नेपालले मौद्रिक नीतिपछि मर्ज (बिहे) गर्नु पर्ने भएकाले त्यसअघि नै जोडी खोज्न (लभ पार्न) निर्देशन दिएपछि यो विषयलाई लिएर बैंकहरु बढी दबाबमा छन् ।

‘राष्ट्र बैंकले मौद्रिक नीतिअघि नै लभ गर भनेको छ, जोडी पाए त लभ गर्नु ? एक्लै लभ हुन्छ र ?’ एक बैंकका अध्यक्षले क्लिकमाण्डूसँग भने, ‘फेरि यो कुरा लिखितरुपमा आएको पनि होइन, मौखिक निर्देशनलाई लिएर धमाधम जोडी खोजिहाल्ने अवस्था छैन ।’

आफूहरु मर्जरमा जान तयार रहेको उनको भनाई थियो । तर, मौद्रिक नीति हेरेपछि मात्रै पार्टनर खोज्न लाग्ने उनको भनाई थियो ।

‘मौद्रिक नीतिपछि चुपचाप बसेर हेर्छौं, मौद्रिक नीति कस्तो आउँछ त्यसपछि आवश्यक निर्णय लिन्छौं,’ ती अध्यक्षले भने ।

टप फाइभ बैंकमा पर्ने अर्को एक ठूलो बैंकका सीइओ आफ्नो बैंक लभ म्यारिजको पक्षमा नरहेको बताउँछन् ।

‘हामी लभ म्यारिज गर्ने पक्षमा छैनौं, राष्ट्र बैंकले फोर्स गरेर एरेञ्ज म्यारिज गरायो भने त गर्नै पर्यो,’ उनले भने ।

मौद्रिक नीति अघि कमिटमेन्ट चाहीँ के बुझाउनु हुन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘हामी जोडी खोजिरहेका छौं, मर्जरमा जान्छौं भनेर पठाउँछौं ।’

औपचारिकरुपमा बैंकका अध्यक्ष, सञ्चालक र सीइओहरु मौद्रिक नीतिलाई पर्ख र हेरको अवस्थामा छौं भनेर भन्न सक्दैनन् । तर, अनौपचारिकरुपमा भने उनीहरु मौद्रिक नीति कुरेर बसिरहेको बताउँछन् ।

खासगरी मौद्रिक नीतिले प्रोत्साहन गर्छ कि फोर्स गर्छ भन्नेमा उनीहरुको बढी चासो छ । सबै बैंकरहरु फोर्स मर्जरको पक्षमा छैनन् । राष्ट्र बैंकले इन्सेन्टिभ दिएर इन्करेज गर्नुपर्ने पक्षमा छन् ।

तर राष्ट्र बैंकले फोर्स गर्यो भने मर्जरमा जान बाध्य हुनुपर्ने उनीहरुको भनाई छ ।

‘फोर्स मर्जरले राम्रो परिणाम दिँदैन, त्यसैले हामी मर्जरमा प्रोत्साहन गर्नुपर्छ भन्ने पक्षमा छौं,’ एक बैंकरले भने, ‘प्रोत्साहन दिएर गराएको मर्ज दिगो र टिकाउ हुन्छ । राष्ट्र बैंकले कस्तो नीति लिन्छ भनेर मौद्रिक नीति कुर्नुको बिकल्प छैन ।’

बैंकर्स संघले केही दिनमै बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गर्नका लागि फलानो–फलनो सुविधा चाहिन्छ भनेर राष्ट्र बैंक समक्ष मागपत्र बुझाउने तयारी गरिरहेको छ । बैंकर्स संघका सुझाब समेटिएको खण्डमा बैंकहरु स्वतस्फूर्तरुपमा मर्जरमा जाने बैंकहरुहरु बताउँछन् ।

उता राष्ट्र बैंकले भने बैंकको संख्या १४ देखि १६ वटामा झार्ने तयारीका साथ मर्जरको दबाब दिइरहेको छ । ६÷७ वटा बैंक टिक्नै नसक्ने र बाँक ७÷८ वटा बैंक कमजोर रहेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या २८ बाट घटाएर १४ देखि १६ वटामा झार्ने तयारीका साथ दबाब बढाएको हो ।

राष्ट्र बैंकले मर्जरमा नजाने संस्थाहरुलाई बोलाएर असहयोग गर्छु भन्दै थर्काएर भएपनि मर्ज गराएरै छाड्ने रणनीति लिएको छ ।

‘हामी नीतिगतरुपमा फोर्स गर्दैनौं, इन्करेज गर्छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर, व्यवहारिकरुपमा फोर्स गर्छौं ।’