२८ मंसिर २०८२, शनिबार

मौद्रिक नीतिः घर कर्जाको सीमा नबढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले निजी आवासिय घर कर्जा (होम लोन)को सीमा नबढाउने भएको छ ।

आयात निरुत्साहित गर्नका लागि आन्तरिक उत्पादन बढाउनु पर्ने राष्ट्रिय आवश्यकता भएकाले आगामी मौद्रिक नीतिले अन्य क्षेत्रमा कर्जा बढाउने नीति लिन नसक्ने राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।

‘आन्तरिक उत्पादन बढाउनु पर्ने राष्ट्रिय आवश्यकता छ, त्यसैले आन्तरिक उत्पादन बढाउने क्षेत्रमा बैंकहरुको कर्जा बढाउने नीति लिन्छौं’ भट्टले क्लिकमाण्डूसँग भने, ‘आयातमा प्रवाह हुने कर्जामा कडाइ गरिनेछ भने हाउजिङ रियलस्टेट लगायतका क्षेत्रमा यथावत राखिनेछ ।’

राष्ट्र बैंकको अनुसन्धान विभागले अहिले धमाधम मौद्रिक नीतिको मस्यौदा तयार पारिरहेको छ । साउन पहिलो सातासम्ममा मौद्रिक नीति सार्वजानि हुनेछ ।

डा. खतिवडाले गभर्नर छाडेपछि सेयर र गाडी खरिदमा जाने कर्जा बढ्यो, घरजग्गाको घट्यो

‘उत्पानशील क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रवाह हुने कर्जालाई निरुत्साहित गरिनेछ,’ भट्टले भने, ‘अंक कति राख्ने भन्ने कुरा अन्तिममा सञ्चालक समितिले थपघट गर्न सक्ने अप्सन चाहीँ हुन्छ ।’

राष्ट्र बैंकको उच्च स्रोत पनि होम लोनको सीमा बढाउन सक्ने अवस्था नरहेको बताउँछ ।

‘उत्पादन बढाउनमा कर्जा केन्द्रित गर्नुपर्ने राष्ट्रिय आवश्यकता रहेकाले होम लोनको सीमा बढाउन सक्ने अवस्था छैन,’ उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘यहाँ उद्योग व्यवसाय गर्छु भन्नेले त ऋण पाउन नसकिरहेको अवस्था छ । हामीले त्यसलाई सम्बोधन गर्नैपर्छ ।’

अहिले होम लोनको सीमा १ करोड ५० लाख रुपैयाँ छ । यसको अर्थ बैंकहरुले निजी आवास बनाउनका लागि डेढ करोड रुपैयाँसम्म ऋण दिन पाउनेछन् । सो रकमभन्दा माथि ऋण दिनुपरे त्यसलाई रियलस्टेट कर्जामा राख्नुपर्नेछ ।

राष्ट्र बैंकले हाउजिङलाई उत्पादनमूलक र रियलस्टेटलाई अनुत्पादक क्षेत्रको रुपमा ब्याख्या गर्दै आएको छ । र, रियलस्टेट कर्जालाई निरुत्साहित गरिरहेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले व्यक्तिगत घर कर्जाको सीमा बढाएर ३ करोड ५० लाख रुपैयाँ बनाउनु पर्ने सुझाब दिएको छ । २ वर्षदेखि यस्तो कर्जाको सीमा नबढेको भन्दै संघले एकैपटक दुई गुणाभन्दा बढीले बढाउन सुझाएको हो ।

घरजग्गाको मूल्य बढेका कारण डेढ करोड रुपैयाँ ऋण सीमा बढाउनु पर्ने संघको धारणा हो ।

०७६ बैशाख मसान्तसम्ममा बैंकहरुले २ खर्ब ४५ अर्ब ६८ करोड रुपैयाँ होम लोन दिएका छन् । ०७५ बैशाख मसान्तको भन्दा यो १९ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकले होम लोनमा केही खुकुलो नीति अपनाउने हो भने यस्तो कर्जाको माग निकै धेरै छ । होम लोन खासगरी निम्नमध्यम वर्ग र मध्यम वर्गले बढी लिने गरेका छन् । नेपालमा यो वर्ग निरन्तर बढिरहेको छ ।

त्यसैगरी, घरजग्गा धितो राखेर लिन पाउने कर्जाको सीमा पनि यथावत राख्ने तयारी भइरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।