स्मार्ट लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ यही साता आउने, दैनिक ७ हजार छाप्न सकिने « Eglish Khabarhub

स्मार्ट लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ यही साता आउने, दैनिक ७ हजार छाप्न सकिने



काठमाडौं । स्मार्ट लाइसेन्स छाप्नका लागि ल्याउने भनिएको लेजर बेस्ड मास प्रिन्टर यही साता नेपाल आइपुग्ने भएको छ ।

यातायात विभागका महानिर्देशक कुमार प्रसाद दाहालले दिएको जानकारी अनुसार साउन १७ गतेसम्म उक्त मास प्रिन्टर आइपुग्नेछ ।

उनले भने, ‘यसअघि असार २९ गतेसम्मको म्याद तोकिएको थियो, त्यसमा १८ दिन थप गरिएको थियो अब साउन १७ गतेसम्म मास प्रिन्टर नेपाल आइपुग्छ ।’

उनका अनुसार मास प्रिन्टर ल्याउने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले नयाँ निर्धारित समयमा नै प्रिन्टर ल्याउने बाचा गरेको छ । प्रिन्टर आएको २/३ दिनभित्रै स्मार्ट लाइसेन्स छाप्ने काम सुरु भइसक्छ ।

कुमार दाहाल, महानिर्देशक, यातायात विभाग

अहिले कुल साढे ४ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । त्यस्तै हरेक दिन ६ हजार लाइसेन्स प्रिन्टका लागि थपिन्छन् । तर हालको प्रिन्टरबाट जम्मा ३ हजार मात्रै स्मार्ट लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

नयाँ प्रिन्टर आइसकेपछि त्यसले प्रत्येक घण्टा ५ सयका दरले छपाइ गर्न सक्छ । महानिर्देशक दाहालले भने, ‘दैनिक ८ घण्टा मात्रै काम गर्दा पनि ४ हजारका दरले दैनिक स्मार्ट लाइसेन्स छाप्न सकिन्छ, अहिले दैनिक ३ हजार छापिरहेकोमा अब हाम्रो क्षमता दैनिक ७ हजारभन्दा माथि पुग्छ ।’

दाहालका अनुसार अहिले स्मार्ट लाइसेन्स छपाइको समस्या ३ महिनामा सकिने बताए । त्यसपछि भनेकै समयमा स्मार्ट लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ ।

यसअघि एमएसपीले स्मार्ट लाइसेनस छपाई र मास प्रिन्टर खरिदका लागि तोकिएको समयमा काम पूरा गर्न नसकेको भन्दै आलोचना गरिएको थियो । ठेक्का पाएर पनि निर्धारित समयमा काम गर्न नसक्दा स्मार्ट लाइसेन्स कुरिरहेका ग्राहकमा मार परेको थियो ।

दाहालका अनुसार एमएसपीले १७ गतेसम्म मास प्रिन्टर नेपाल ल्याउने र बाँकी ४ लाख स्मार्ट लाइसेन्स छपाई पनि भदौ २७ गतेसम्म सकाएर नेपाल ल्याइसक्नेछ ।

यदि एमएसपीले निर्धारित समयमा नै मास प्रिन्टर नल्याएमा दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना काटिने दाहालले जानकारी दिए ।

Publish on: