वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन नेप्सेको यस्तो तयारी « Eglish Khabarhub

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन नेप्सेको यस्तो तयारी



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वाणिज्य बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको काम गर्न दिनको लागि अन्तिम तयारीमा जुटेको छ ।
धितोपत्र बोर्डले नेप्सेलाई साउन २ गते दिएको निर्देशन पछि सहायक कम्पनी खोलेर आउने बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने तयारीमा नेप्से रहेको स्रोतले जनाएको छ ।

नेप्सेले यसको लागि सम्भवतः यति साता नै सूचना सार्वजनिक गर्ने बताइएको छ । स्रोतका अनुसार, ‘नियामकले तोकेको मापदण्ड पुरा गरेका बैंकका सहायक कम्पनीले ब्रोकर लासेन्स लिनका लागि आवेदन दिनुहोस’ भन्ने आशयको सूचना जारी हुनेछ ।

बोर्ड स्रोतका अनुसार नेप्सेमा सञ्चालक समितिको बैठक बसेर सूचना जारी गर्ने विषयमा निर्णय भइसकेको छ । नेप्से सञ्चालक समितिका सदस्यका भनाई उद्धृत गर्दै एक अधिकारीले भने, ‘नेप्सेले नै यसै साता सूचना निकाल्ने निर्णय भएको छ, यति भएपछि सायद यहि साता सूचना आउला ।’

यसअघि नेप्सेले धितोपत्र बोर्डलाई ब्रोकर छनोट गर्ने कार्यविधि तयार पारेर अध्ययनका लागि बोर्डमा पठाएको थियो । नेप्सेले बोर्डलाई पठाएको कार्यविधिमा कम्पनीको पुँजी, प्राविधिक व्यवस्था, जनशक्ति व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा कार्यालयको क्षेत्रफल, आचार संहिता लगायतका विषय रहेका थिए । तर बोर्डले साउन २ गते निर्देशन दिँदै २०७५ पुस १८ गते तोकेको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ ।

बोर्डले उक्त निर्देशनमा बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न अनुमति दिँदा संघीय संरचना अनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला, (उपत्यका बाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति दिन निर्देशन दिएको छ ।

अहिलेसम्म ३ वाणिज्य बैंकहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न तयार रहेको नेप्सेलाई जानकारी गराइसकेका छन् । सहायक कम्पनी खोलेर त्यही कम्पनी मार्फत ब्रोकरको काम गर्न नेप्सेमा आवेदन दिनेमा एनआईसी, सानिमा र प्रभु बैंक रहेका छन् । दुई दर्जन वाणिज्य बैंकहरुले नियमावली संशोधन गरेर सहायक कम्पनी खोल्न राष्ट्र बैंकबाट अनुमति लिइसकेका छन् ।

Publish on: