साढे ९ करोड खर्चेर आकाशे पुल निर्माण गरिँदै « Eglish Khabarhub

साढे ९ करोड खर्चेर आकाशे पुल निर्माण गरिँदै



चितवन । रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले १ करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उनले बताए ।

आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाका योजना शाखा प्रमुख ई प्रकाश ढुङ्गानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न ९ करोड ५० लाख लाग्नेछ ।

सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो । ढुङ्गानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्साङ्कन गरिएको बताउनुभयो ।

सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, वृद्धवृद्धा, फरक क्षमता भएका मानिससँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ । यी पुल जिल्लाका पहिलो आकाशे पुल हुनेछन् । नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाइने प्रमुख वनले जानकारी दिए ।

Publish on: