साउन लागेपछि बैंकको निक्षेप र कर्जा १६/१६ अर्ब रुपैयाँले घट्यो « Eglish Khabarhub

साउन लागेपछि बैंकको निक्षेप र कर्जा १६/१६ अर्ब रुपैयाँले घट्यो



काठमाडौं । आर्थिक वर्षको शुरुवाती महिनामै बैंकहरुको निक्षेप र कर्जा दुबै घटेको छ । गत असार मसान्तको तुलनामा साउन १० गतेसम्ममा निक्षेप र कर्जा १६/१६ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

साउन ३ गतेसम्म आइपुग्दा बैंहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेर २८ खर्ब ६५ अर्ब रुपैयाँ र कर्जा प्रवाह पनि १३ अर्ब रुपैयाँले घटेर २४ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ ।

त्यसैगरी, साउन ३ को तुलनामा साउन १० गतेसम्म आइपुग्दा निक्षेप ३ अर्ब रुपैयाँले घटेर २८ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा पनि ३ अर्ब रुपैयाँले घटेर २४ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ ।

गत वर्षभरी लगानी योग्य पुँजी तरलता अभाव झेलेको बैंकिङ क्षेत्रमा यो आर्थिक वर्षको शुरुवातमै लगानीयोग्य पुँजी अभाव हुने संकेत देखिएको छ ।

गत आर्थिक वर्षभरीमा बैंकहरुको निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँले बढेको थियो भने कर्जा ३ खर्ब ८७ अर्ब रुपैयाँले बढेको थियो ।
मुलुकमा आर्थिक गतिविधि बढेपछि कर्जाको माग अत्याधिक छ ।

अहिले मात्रै ५ खर्ब रुपैयाँभन्दा बढी कर्जा माग गर्दै बैंकमा पुगेका फाइलहरु लगायी योग्य पुँजीको अभावका कारण पेन्डिङमा छन् ।

Publish on: