काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सवारीसाधनको आयात कम हुँदा लक्ष्य अनुसार राजस्व नपुगेको बताएका छन् ।
भन्सार मूल्यांकन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सवारीसाधनको आयात बढाएर राजस्व लक्ष्य पुर्याउन आफुहरुले नचाहेको बताए ।
‘विगतका वर्षहरुमा सवारीसाधनको आयात बढाएर,राजस्व लक्ष्य पुरा हुने गरेको थियो,हामीले सवारीसाधनको आयातलाई निरुत्साहित गरेका छौ,’खतिवडाले भने ।
उनले बैंकहरुमा भएको तरलताको स्थिती र उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाहमा जोड दिनको लागि गाडी खरिद कर्जामा ५० प्रतिशत डाउनपेमेन्ट गरिएको बताए ।
यस्तै गतवर्ष अघिल्ला वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातको बृद्धिदरमा समेत कमी आएको खतिवडाले बताए ।
उनले देश अहिले रेमिटेन्स आम्दानीबाट चलेको भन्दै सधै यसरी नचल्ने बताए ।
‘व्यापारघाटा बढ्दो क्रममा रहेको छ,यसलाई घटाउनको लागि उत्पादन बढाउने नीति हामीले लिएका छौ,’उनले थपे ।
अहिलेको भन्सार प्रशासन तथा व्यापार सहजिकरण कारोबार रकममा आधारमा हुने गरेको तथा राष्ट्रिय पूँजी निर्माण र उद्योगको संरक्षणको नीति सरकराले लिएको बताए । सो अनुसार भन्सारका रणनीति कार्यान्वयन भएको खतिवडाको भनाई छ ।
उनले नेपाल विदेशी वस्तुको डप्पिङ साइट नबनाउने भन्दै यसको लागि एन्टी डम्पिङ र काउन्टर कानून पास हुने क्रममा रहेको जानकारी दिए ।
छिमेकबाट हुने व्यापार बैंकिङ प्रणालीबाट नभएको भन्दै खतिवडाले यस्तो व्यापार गर्न व्यापारीलाई जोड दिए ।
खास गरेर चीनसँगको व्यापारमा बैकिङ माध्यमबाट व्यवसाय बढाउनको लागि सहजिकरणको काम गरेको बताए ।
तयारी वस्तु र कच्चा पदार्थमा भन्सार तह फरक पारिएको र अझै कतिपय वस्तुमा मिलाउनुपर्ने अवस्था रहेको बताए । डब्लुटिओमा जानु बाध्यता रहेको कारण नेपालले भन्सारका दर तल राखेर काम गर्नुपरेको यसलाई रोक्नको लागि अन्तशुल्क लगाएको बताए ।
उनले तयारी वस्तुको उच्च भन्सार दर रहेका वस्तुहरु नेपालमा उत्पादन गर्नको लागि व्यवसायीलाई आग्रह गरे ।
‘उच्च भन्सार दर लगाएर नेपालमा उत्पादन गर्नको लागि राज्यले संरक्षण गरेका व्यवसायमा लगानी बढाउनुहोस्,यी वस्तुको उत्पादन नेपालमा गर्नुहोस्,’अर्थमन्त्री खतिवडाले भने ।
भन्सारले दिएको लाभलाई फाइदा लिन उद्योगमा आउनुपर्यो भन्द्रै मन्त्री खतिवडाले लगानी गर्न आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिए ।
SHARE YOUR THOUGHTS