काठमाडौं । कुमारी बैंकले ३५ दिन अगाडि सूचना दिएर जागिर छाड्दा ३ महिनासम्मको तलब काट्ने गरेको भेटिएको छ ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ३५ दिन अगाडि लिखित जानकारी दिएपछि राजिनामा गर्दा उसले पाउनुपर्ने सुविधा दिनुपर्ने हुन्छ ।
तर,कुमारी बैंकले भने जागिर छाड्ने कर्मचारीलाई ३ महिना बराबरको तलब काटेको भेटिएको हो ।
३५ दिनको सूचना दिएर राजिनामा गर्दा ३ महिना बराबरको तलब बैंकले काटेको बैंकबाट राजिनामा गरेका एक पीडित कर्मचारीले बताए ।
‘लिखित रुपमा राजिनामा दिएपछि एचआर विभागबाट एक महिना थप काम गर्नुपर्ने भनियो,एक महिना काम गरेपछि दिनुपर्ने तलब दिइएन,बिदा बापतको कुनैपनि पैसा आएन,यसरी तीन महिना बराबरको तलब बैंकले हामीलाई दिएन,’नाम नबताउने सत्रमा कुमारी बैंक छाडेका एक कर्मचारीले क्लिकमाण्डूसँग भने ।
अहिले अर्को बैंकमा कार्यरत ती कर्मचारी काठमाडौं उपत्यकाका होइन् । काठमाडौं बाहिरको शाखामा कार्यरत ती कर्मचारीले मानव संसाधन विभागमा काटिएको तलब सुविधा फिर्ता गर्न माग गर्न टेलिफोन गरे । एचआर विभागले उनलाई पैसा दिन नसकिने र बैंकको नियम अनुसार पैसा काटिएको जुन ठाउँमा उजुरी गर्ने हो त्यहा उजुरी गर्दा हुने जवाफ दिएको थियो ।
‘राष्ट्र बैंकको क्षेत्रिय कार्यालयमा जादा केन्द्रीय कार्यालयमा उजुरी गर्नुहोस् भनेर जवाफ आयो, काठमाडौंबाट टाढा रहेको हुँदा उजुरी दिन पाएकको छैन,’उनले गुनासो सुनाउदै भने ।
कुमारी बैंकले जागिरबाट राजिनामा दिदा न्यूनतम ३ महिनाको तलब काट्ने गुनासो बैंक छाड्ने अरु कर्मचारीको पनि रहेको छ । केही व्यक्तिसँग क्लिकमाण्डूले सम्पर्क गरेको थियो । सबैको जवाफ उस्तै थियो ।
यो विषयमा बुझ्न क्लिकमाण्डूले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई सम्पर्क गरेको थियो ।
क्लिकमाण्डूले जागिर छाड्ने कर्मचारीको ३ महिनाको तलब काट्नहुन्छ हो? भन्ने प्रश्नको जवाफमा तिमिल्सिनाले भने,‘यस्तो तलब काट्ने गरेको छैन,विस्तृतमा मलाई जानकारी छैन,एचआरमा सोध्नुहोला म अहिले बाहिर छु,।’
कम्पनीको एचआर विभागका प्रमुख रोहित सिंहले कुनैपनि कर्मचारीले जागिर छाड्दा तीन महिनाको तलब नकाटिएको बताए ।
‘कर्मचारीलाई बैंकको खर्चमा तालिम लिएपछि निश्चित अवधी काम गर्नुपर्ने हुन्छ,त्यो अवधी पुरा नभए तालिममा लागेको खर्च बराबरको रकम कर्मचारीबाट तिराउने गरिन्छ,’उनले क्लिकमाण्डूसँग भने ।
कर्मचारीलाई बैंकले महंगो खर्चमा तालिम दिने र तालिम लिएपछि कर्मचारीले छाड्ने गरेको हुँदा त्यो शुल्क मात्र लिने गरेको बताए ।
‘कुनैबेला दिनुपर्ने तलब नगएपनि कर्मचारीले गर्ने गुनासोको आधारमा तलब फिर्ता गर्ने गरिएको छ,यसरी तीन महिनाको तलब काटिएको भने होइन,’उनले थपे ।
तर,३५ दिन अगाडि सूचना दिएर बैंक छाडेका ती कर्मचारीले भने आफुले बैंकले उपलब्ध गराएको महंगो तालिम कुनैपनि नलिएको बताए ।
‘एनबिआईले दिएको एक दिनको तालिम लिएको हो,जसको खर्च तीन महिनाको तलब काटिने गरेर हुँदैन,१० हजार रुपैयाँ काटिएको भए विश्वास हुन्थ्यो,तीन महिनामा पाउने ६७ हजार बराबरको रकम काटेको छ,’कुमारी बैंकबाट पीडित बनेका कर्मचारीले गुनासो पोख्दै भने ।
SHARE YOUR THOUGHTS