आर्थिक जगतका यी महिलाले कसरी मनाउँदैछन् तीज ? « Eglish Khabarhub

आर्थिक जगतका यी महिलाले कसरी मनाउँदैछन् तीज ?


१३ भाद्र २०७६, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको चाड हरितालिका तीजको लहर देश-विदेशमा सुरू भइसकेको छ ।

नेपाली हिन्दु नारीहरुको महान पर्वको रुपमा मनाइने हरितालिका तीज सबै ठाउँमा छरिएर रहेका नेपाली महिलाहरुले परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

सामान्यतया महिलाहरु तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट निरहार व्रत बस्ने गर्दछन् ।

तर पछिल्ला केही वर्षयता भने सहरी भेगका महिलाहरुमा तीज शुरु हनु भन्दा १ महिना अघिदेखि नै   दरखाने कार्यक्रम गर्दै मनाउने प्रचलन बढिरहेको छ ।

विशेषगरी बिवाहित नारीले आफ्नो पतिको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै र अबिवाहित नारीहरुले राम्रो पति पाऊँ भनेर व्रत बसी तीज पर्व मान्ने इतिहासदेखिको प्रचलन छ ।

तीजमा महिलाहरु नयाँ गहना तथा पहिरनहरु आफ्नो लागि किन्ने र आफन्तहरुका लागि पनि किन्ने गर्छन् । निम्न वर्गिय, मध्यम वर्गिय र उच्च वर्गिय महिला सबैले तीजका आ-आफ्नै योजनाहरु बनाएर बनाएर मनाउने गर्दछन् ।

तर सामान्यस्तरका महिलाहरुले मनाउने तीज र उच्च ओहोदामा रहेका महिला, धनाढ्य र व्यापारिक घरानाका महिलाले मनाउने तीज पनि उस्तै रहेको पाइएको छ । हामीले नेपालका केही उच्च तहका उद्योगी व्यवसायी तथा बैंकर महिलाहरुको तीजको योजना र तौरतरिकाका बारेमा चर्चा गरेका छौं ।

अग्रिम तीज मनाउँदा आर्थिक कारोबार बढ्छ

भवानी राणा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

म तीजमा व्रत बस्छु । मन्दिर जान्छु र पूजा पनि गर्छु । विभिन्न दर खाने कार्यक्रममा सहभागी हुन्छु । केही समय भारतमा थिएँ । त्यसैले यो वर्षको तीजमा धेरैवटा दर खाने कार्यक्रममा सहभागी हुन पाइँन । भोलि (शनिबार) मैले  घरमै दर खाने कार्यक्रम राखेकी छु । साथीभाईबीच ‘गेट टुगेदर’ गरेर रमाइलो गर्ने भएकाले मलाई तीज निकै महत्वपूर्ण लाग्छ ।

खासगरी तीजमा चुरा, सारीलगायतका गिफ्ट किनेर दिइन्छ । म पनि त्यसै गर्छु । आफ्ना लागि भने पूजाका सामानहरु मात्रै किनेकी छु । तीजलाई नै भनेर कहिल्यै पनि गहना किन्दिनँ । तीजको व्रत वस्न थालेको २५ वर्ष भयो । सुरूका २/३ वर्ष पानी पनि नखाई व्रत बसेकी थिएँ । तर अचेल पानी र जुस भने खान्छु ।  राति पूजा गरेर बत्ति बालेपछि फलफूल खान्छु ।

मेरो मुमा-बुबा बितिसक्नु भएकाले तीजमा माइत जाने गरेकी छैन । माइतीबाट पनि म आफ्नै घरमा बोलाउँछु । हामी नन्द, आमाजू, देउरानी, जेठानी सबैजना एकैठाउँमा बसेर तीज मनाउने गर्छौं ।

तीजको व्रत भनेको पहिलेदेखि चलिआएको धार्मिक आस्था पनि हो । म यस्तो संस्कार र आस्थालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्छु । पहिले गाउँघरमा महिला दिदीबहिनीहरु तीजमा गीत र गितीकथामार्फत् आफ्ना दु:ख पोख्ने गर्नुहुन्थ्यो । तीज महिलाका लागि मेलमिलाप र दु:खसुख बाँड्ने अवसर पनि हो ।

अहिले आर्थिक सवलताका कारण तीजमा पनि ठूलो सेलिब्रेसन हुन थालेको छ । म यसलाई सकरात्मकरुपमा नै लिन्छु । सबैले आआफ्नो आर्थिक हैसियतअनुसार तीज मनाउनु पर्छ ।

तीज आउनुभन्दा १५ दिन अघिदेखि नै तीज मनाउने चलनलाई म सकारात्मक रुपमा लिन्छु । यो व्यापारिक दृष्टिले राम्रो हो भन्छु । किनभने तीजलाई लक्षित गरी विभिन्न एक्पो तथा मेलाहरु आयोजना हुन्छ । आर्थिक कारोबारहरु बढ्छन् ।

चुरा र धागो बनाउनेहरुले काम पाउँछन् । यसले उनीहरुको जीवनमा आर्थिक कारोबार बढ्छ । रोजगारी सिर्जना हुन्छ । त्यसैले तीज अगावै अग्रिम तीज मनाउनुलाई आर्थिक हिसाबले राम्रो मान्नुपर्छ जस्तो लाग्छ ।

तीज महिलाहरुका लागि अवसर पनि हो

सीमा गोल्छा, व्यवसायी

हाम्रो माडवारी समूदायमा तीजको खासै चलन छैन । तर म साथीहरुसँग भेटेर सेलिब्रेट भने गर्छु । किनभने पछिल्लो समय तीज महिलाहरुको राष्ट्रिय पर्व बन्दै आएको छ । सबै समूदायले तीज मान्न थालेका छन् । यो सकरात्मक पक्ष हो । तीज कल्चरल्ली एसेप्टेबल भइसकेको छ । पहिले पहिले त १/२ दिन मात्रै दर खाने चलन थियो । अचेल त २ हप्ता अघिदेखि नै दर खाने चलन भइसकेको छ ।

धेरै ठाउँबाट दर खाने निम्ता आएको हुन्छ । कार्यव्यवस्तताले गर्दा निम्ता आएजति सबै ठाउँमा जान पाइँदैन । केही मिल्ने साथीहरुको समूहमा मात्रै दर खान जाने गरेकी छु । आज पनि म तीजकै कार्यक्रममा सहभागी भएर आएकी हुँ ।

तीजकै लागि भनेर विशेष किनमेल गर्ने गरेकी छैन । तीज आआफ्नो आर्थिक हैसियतअनुसार मनाउनु पर्छ । हाइ क्लासका महिलाहरु त बाहिर गइरहेका हुन्छ । तर, कतिपय महिलाका लागि भने तीज बाहिर निस्कने ठूलो अवसर पनि हो । त्यसैले मलाई तीज मनपर्छ ।

परम्परा संस्कृतिलाई जोगाउनु पर्छ

सरिता भट्ट, कार्यकारी निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग, राष्ट्र बैंक

विषशेगरी तीज आफन्त साथीहरुसँग मिलेर मनाउने गरेको छु । भदौको पहिलो हप्तादेखि नै मलाई अग्रिम तीज लागिरहेको छ । जागिरेलाई अग्रिम तीज मनाउन भने समय मिलाउन गाह्रोे हुन्छ । परम्परालाई धान्ने गरी सबैसँग चाडपर्व मनाउनै पर्यो । मलाई सानैबाट तीज मनपर्ने दरखाने र व्रत बस्ने पहिलेबाटै गर्थे । आफ्ना लागि र साथीहरुलाई तथा परिवारका महिला सदस्यहरुलाई उपहार दिन भनेर पहिरन र श्रृंगारका सामानहरु किनेको छु । नयाँ गहना भने म तीजमा बनाउँदिन । अहिले धेरै गहना लगाएर हिड्ने समय नै छैन ।

म १८ वर्षको हुँदादेखि तीजको व्रत बस्न थालेकी हुँ । मेरो बिवाह हुदाँ म २० वर्षको थिएँ । अहिलेसम्म २८ वटा तीजमा व्रत बसेकी छु । त्यसमा ६/७ पटक त  पानी पनि नपिइ निर्जला व्रत बसेको छु । अरु भने शरीरले सकेसम्म पानी नखाई व्रत बस्छु ।

हामी पढेलेखेका मान्छेहरुले बुझेर आफ्नो परम्परा संस्कृतिलाई जोगाउनु पर्छ । दैनिक व्यस्त जीवनबाट १/२ दिन भए पनि टाढा भएर आफन्त साथीहरुसँग पनि रमाइलो गर्दा सामाजिक भइन्छ । धेरै तडकभडक नगरी सामान्य तरिकाले अग्रिम तीज मनाउदाँ केही हुँदैन । दिदीबहिनी, छोरी/बेटीहरु धेरै हुनेले एकै दिनमा नै दर खाने भनेर समय मिलाउन नसक्न सक्छन् । उनीहरूका लागि अग्रिम तीज मनाउने प्रचलन बढेको हो । अग्रिम तीज मनाउँदा फाइदा पनि छ । आर्थिक परिचालन हुन्छ, व्यापार बढ्छ । अन्य बेलामा भन्दा बैंकहरुबाट पनि धेरै पैसाको कारोबार भएको हुन्छ ।

राष्ट्र बैंकले तीजको दिन १ दिन महिला कर्मचारीलाई  सरकारी बिदा दिँदै आएको छ । त्यसदिन  राष्ट्र बैंकबाट करिब २ सय ४० जना महिला कर्मचारी बिदामा बस्न पाउँछन् । हामी महिला कर्मचारीलाई राष्ट्र बैंकका कर्मचारी युनियनहरुले दर खुवाउने चलन छ । यो वर्ष पनि राष्ट्र बैंक कर्मचारी संघ र वित्तीय क्षेत्रका कर्मचारी संघले हामीलाई दर खुवाइसक्नु भयो । पारिवारिकरूपमा भने परिवारका सदस्य र साथीसँग मिलेर दर खाने कार्यक्रममा सरिक भइरहेकी छु ।  साथै राष्ट्र बैंकका महिला कर्मचारी मिलेर  पनि भेटघाट कार्यक्रम आयोजना गर्ने भनेर योजना समेत बनाएका छौं ।

आफ्नै लागि तीजको व्रत बस्छु

 

बन्दना पाठक, डेपुटी सीइओ, एनसीसी बैंक

म सानैदेखि तीज मनाउँथे । मेरो १५ वर्षकै उमेरमा बिवाह भएको थियो । बिवाहपछिका केही वर्ष म पतिको दीर्घायुको कामना गर्दै पानी पनि  नखाइ व्रत बसेँ ।  तर केही वर्षयता भने आफ्नो स्वास्थ्यको ख्याल गर्दै पानी तथा जुस र साँझमा फलफुल खाएर तीजको व्रत बस्दै आएकी छु  । यस वर्षको तीजमा  भने मैले आफ्ना लागि भन्दा पनि  परिवारका सदस्य र साथीका लागि कपडा र श्रृंगारका सामग्री किनमेल गरेकी छु ।

कार्यालयको कामले फुर्सद नहुँदा मलार्ई अग्रिम दरका कार्यक्रमको रौनकले अझै छोएको छैन । शनिबार बिदाका दिनमा भने केही तीज विषेश कार्यक्रमहरुमा सरिक हुने योजना बनाएकी छु । बैंकमा डिपार्टमेन्ट अनुसार पुरुष कर्मचारीले महिला कर्मचारीलाई दर खुवाउँदै आएका छन् । साथै बैंकका स्टाफ नै मिलेर कुनै रेष्टुराँ वा अन्त कतै गएर तीज मनाउँने गर्छाैं ।

तीजमा बिवाहित महिलाहरु पतिको दीर्घायुको कामना  र अबिवाहित महिलाहरु राम्रो श्रीमान पाउने अपेक्षा गर्दै व्रत बस्ने गर्दछन् । म भने व्रत अरुका लागि नभइ आफ्नै स्वास्थ्यका लागि बस्नु पर्छ भन्छु । तीजदेखि बाहेक पनि महिनामा १/२ पटक व्रत बस्दै  आएकी छु ।

पछिल्लो समय तीजको नाममा भित्रिएका विकृतिले गर्दा सामान्य आयस्तर भएका महिला र उच्चआयस्तर भएका महिलामा छुट्टिनुका साथै मनमुटावको भावना पनि सिर्जना  भएको छ । सामाजमा नराम्रो असर नपर्ने गरी चाडपर्व मानउँदै आफ्नो परम्परालाई अर्को पुस्तासम्म पुर्याउनु पर्छ भन्ने मान्यता पनि राख्छु ।

तीजमा माइत जान मलाई कुनै समस्या छैन । मेरो घर र माइत नै काठमाडौंको ज्ञानेश्वरमा छ । घरबाट माइत जान ५ मिनेट पनि लाग्दैन् । तीजमा सबैभन्दा धेरै रामाइलो माइत गएर आमाको हातले बनाएको खानेकुराका परिकार खान पाउँदा असाध्यै रमाइलो लाग्छ ।

जिम्मेवारी ठूलो भएकाले तीज लाग्न पाएको छैन 

यमकुमारी खतिवडा, सचिव, उद्योग मन्त्रालय

नेपालमा मनाइने  सबै चाडपर्वलाई म उत्तिकै मान्यता दिएर मनाउने गर्छु । सानैदेखि दर खाएर तीज मनाउन सुरू गरेको सम्झना अझै छ । तर व्रत भने ठूलाे भएपछि मात्रै बस्न थालेकी हुँ । पछिल्ला वर्षहरुमा १/२ वटा दर खाने कार्यक्रमहरुमा सरिक भएकी थिए ।  तर यो वर्ष भने अहिलेसम्म अग्रिम तीजको रौनकले छोएको छैन ।

कामको व्यवस्ताले गर्दा पनि त्यसतर्फ ध्यानै जान पाएको छैन । मैले तीज मनाउने भनेको २ दिनमात्रै हो ।  अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बसेपछि मेरा लागि तीजको राैनक सकिन्छ । कामको व्यस्तता यति धेरै हु्न्छ कि अग्रिम तीज मनाउन  फुसर्द निकाल्न गाह्रो हुन्छ । त्यसैले अरू महिलाले अग्रिम तीज मनाएको देख्दा रहर भने लाग्छ ।

चाडपर्वमा रमाउनेभन्दा पनि आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राख्ने हुनाले अग्रिम तीज मनाउन पाएकी छैन ।

आजसम्म व्रत बसेकी छैन

रश्मी पन्त, चिफ कर्पोरेट प्लानिङ अफिसर प्रभु बैंक

गत बुधबार साँझमात्रै हामीले अफिसका कर्मचारीहरुलाई तीजको दर खाने कार्यक्रम आयोजना गरेका  थियौं । अफिसकै कामले बाहिरतिर हिँड्नु परेर र व्यस्त भएर होला  मलाई यो वर्ष अरु महिलाहरुलाई जस्तो अग्रिम तीजको रौनकले छोएको छैन । विगतका वर्षहरुमा  साथीसँग  मिलेर दर खाने कार्यक्रम बनाउने गर्थ्याै ।

सानैदेखि तीजमा आफन्त र परिवारको भेटघाट मनपथ्र्यो । दर खाने कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो लाग्थ्यो ।  परिवारका सदस्यबीचको भेटघाट गर्ने संस्कृति अनुसार नै हामी पनि फुपूहरुलाई बोलाउछौँ । मलाई तीजमा रातो साडी लगाउन असाध्यै मनपर्छ । तर तीजमा व्रत भने म आजसम्म पनि बसेकी छैन ।

तीजको लागि नै भनेर म हरेक वर्ष नयाँ पहिरन गहना तथा श्रृंगारका सामानहरु किन्ने गर्छु । यो वर्ष पनि रातो साडी, कुर्ता र त्यसमा लगाउने गहनाहरु किनेकी छु । परिवारका सदस्य साथीहरु र अफिसका स्टफहरुलाई दिन भनेर केही श्रृंगारका सामानहरु किनेको छु ।

अन्य क्षेत्रका महिलाहरुलाई जस्तो बैकिङ क्षेत्रका महिलाहरुलाई अग्रिम तीज मनाउन गाह्रो हुन्छ । अग्रिम तीजको कार्यक्रम छ भन्दैमा बैंकले बिदा दिदैनन् । बिदा पाउने भनेको १ दिनमात्र हो । तीजको दर खाने दिनमात्रै दर खानुपर्छ भनेर म भन्दिन । धेरै ठाँउमा पुग्नुपर्ने हुन्छ । अलिक अगाडि साथीहरू दर खाने काम सकिएमा तीजको दर खाने दिन परिवारसँग मात्र बस्न पाइन्छ । यसलाई विकृतिभन्दा पनि समय अनुसारको परिवर्तन हो भनेर हाम्रो सोच पनि बदल्नुपर्छ ।

तीजको खर्च जोगाएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ

शारदा रिजाल, अध्यक्ष, महिला उद्यमी महासंघ

म अबिवाहित हुदाँदेखि नै दर खाने र व्रत बस्ने गर्थे । बिवाहपछिका केही वर्षसम्म पानी पनि नखाई व्रत बसे तर अहिले भने पानी, जुस तथा फलफुलसम्म खाएर व्रत बस्ने गर्छु

हामी महासंघका महिला उद्यमीहरुले भदौ ५ गते सामान्य तवरले तीज मनायौ । बोर्ड मिटिङ पनि भएकाले त्यहीदिन नै हामीले दर खाने कार्यक्रम राखेका थियौ । तीज भनेको त महिलाहरुले वर्ष दिनभरीको दुखेसो माइतमा गएर सानैदेखिका साथीहरुसँग गीतका माध्यमबाट पोख्नु हो भनेर पुर्खाहरुले सुरू गरेका हुन् ।

तर आजभोलि त १ महिना अगाडिबाटै सहरका पार्टि प्यालेस र रेष्टुराँ तिर भड्किला गीतहरु चर्को स्वरमा बजाएर, रक्सी खाएर मनाउन थालेका छन् । जुन राम्रो होइन ।

महिलाहरु तीजलाई नै भनेर अनावश्यक खर्च गरिरहेका छन् । त्यो खर्च जोगाएर उत्पादनमुलक ठाँउमा लगानी गर्नुपर्छ । सानो भएता पनि उद्यम तथा व्यापार गरी उद्यमी व्यवसायी बन्नतर्फ महिलाले सोच्नुपर्छ । परम्परालाई अगाडि बढाउदै लैजानुपर्छ । तर परम्पराका नाममा भड्किलो भने हुनुहुँदैन ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ००:००  ६ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping