एटीएमबाट बैंकको पैसा चोरेर भाग्दै गर्दा थप एक चिनियाँलाई प्रहरीले एयरपोर्टबाटै पक्रियो « Eglish Khabarhub

एटीएमबाट बैंकको पैसा चोरेर भाग्दै गर्दा थप एक चिनियाँलाई प्रहरीले एयरपोर्टबाटै पक्रियो




काठमाडौं । डाटा ह्याक गरी विभिन्न बैंकको एटीएमबाट रकम चोरी गरेर भाग्दै गर्दा थप एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ वर्षिय चिनियाँ नागरिक सु लुसलीलाई प्रहरीले पक्राउ गरेको हो ।

चीनमा नेपाली बैंक लुट्ने योजना बनाएर शुक्रबार एक गिरोह नेपाल आएको थियो । शनिबार साँझ प्रहरीले एक चिनियाँलाई बैंक लुट्दालुट्दै रंगेहात पक्राउ गरेको थियो । रंगेहात पक्राउ परेको लुटेराको शरिर खानतलासी गर्दा हात्तिसारसिथत माया मनोर बुटिक होटेलबाट बाँक ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अन्य लुटेराहरु भने भाग्न सफल भएका थिए । बैंक लुटेर स्वदेश फर्किन लागेका लुसलीलाई प्रहरीले आइतबार राति बिमानस्थलबाटै पक्राउ गरेको हो । प्रहरीले चिनियाँ नागरिकमाथि विशेष निगरानी गरिरहेको छ ।

‘स्वदेश फर्किने क्रममा थप १ ह्याकरलाई एयरपोर्टबाटै नियन्त्रणमा लिएका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले ‘अरुको खोजी भइरहेको छ ।’

शनिबार प्रहरीले चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ।

नेपाल र भारतबाट १७०० पटक कार्ड घोटेर ३ करोड ४५ लाख रुपैयाँ चोरी गरेका छन् । राष्ट्र बैंकले अध्ययन गर्न ५ सदस्यी कमिटि गठन गरेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार नेपालको बैंकिङ इतिहासमै यो हाइटेक चोरी प्रकरण हो ।

Publish on: