काठमाडौं । चाइनिज ह्याकरले विभिन्न ६ बैंकको भिसा कार्ड प्रयोग गरेर साढे ३ करोड रुपैयाँ निकालेपछि गत शनिबार साँझदेखि एनआइसी एशिया र प्रभु बैंकको एटीएम बन्द भएको थियो । अरु बैंकले अन्तर बैंक एटीएम सेवामात्रै बन्द गरे पनि यी दुई बैंकले भने सम्पूर्ण एटीएम सेवा बन्द गरेका थिए ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टममा जोखिम रहेको भन्दै यी दुई बैंकले एटीएम सेवा सञ्चालनमा ल्याउन सकेका थिएनन् । नेप्से आफूहरुको सिस्टममा समस्या नभएको भन्ने जानकारी राष्ट्र बैंकलाई दिएपछि राष्ट्र बैंकले एनआइसी एशिया र प्रभु बैंकलाई एटीएम सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
‘नेप्सेले हामीलाई सिस्टममा समस्या नरहेको र एटीएम सेवा सञ्चालन गर्न जोखिम नरहेको बताएको छ,’ राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘मैले एनआइसी एशिया र प्रभुलाई एटीएम सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।’
कार्यकारी निर्देशक मिश्रले सोमबार साँझ साढे ५ बजे यस्तो निर्देशन दिएका हुन् । एटीएम सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेको भन्दै राष्ट्र बैंकले सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक
शुक्रबार काठमाडौं आएका चाइनिज ह्याकरहरुले शनिबार दरबारमार्ग र ठमेल क्षेत्रका एटीएम बुथबाट ७०० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ७६ लाख रुपैयाँ र भारतका विभिन्न ठाउँबाट १००० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ५ लाख भारतीय रुपैयाँ चोरी गरेका छन् ।
ह्याकरहरुले प्रभु, एनआइसी एसिया, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको एटीएम कार्ड र नबिल, नेपाल एसबिआइ र इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरेका थिए ।
व्यक्तीको खाताबाट पैसा झिकेको पाइएको छैन । बैंकको एटीएम बुथमा रहेको रकम मात्रै चोरी भएको हो ।
‘यो प्रकरणले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर पर्दैन,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘समयमै थाहा पाएकाले बैंकहरु पनि ठूलो क्षति हुनबाट जोखिएका छन् ।’
शनिबार साँझ नै प्रहरीले ५ जना ह्याकरलाई पक्राउ गरिसकेको छ । ह्याकरबाट प्रहरीले १ करोड २६ लाख रुपैयाँ २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरोसहित १ सय ३२ वटा नक्कली भिसाकार्ड, १७ वटा सक्कली भिसाकार्ड, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड बरामद गरेको थियो । ।
चाइनिज ह्याकरको पैसा साट्ने ३ जना नेपालीलाई प्रहरीले पक्रियो
यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ भने नेपाल राष्ट्र बैंकले पनि ५ सदस्यी अध्ययन समिति गठन गरिसकेको छ । समितिले मंगलबार साँझसम्ममा प्रतिवेदन बुझाउने छ ।
सोमबार दिउँसो प्रहरीले चाइजिन ह्याकरको पैसा साटिदिने ३ जना मनि चेञ्जर कम्पनीका सञ्चालकलाई समेत पक्राउ गरेर अनुसन्धान थालेको छ ।
SHARE YOUR THOUGHTS