काठमाडौं । कर्जा र निक्षेपबीच असन्तुलन चुलिँदै गएपछि चालू आर्थिक वर्षको शुरुमै बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव हुने संकेत देखिएको छ । यो आर्थिक वर्षको डेड महिनामा बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले घटेको छ भने कर्जा ३१ अर्ब रुपैयाँले बढेकोछ ।
नेपाल राष्ट्र बैंकका अनुसार ०७६ असार मसान्तमा वाणिज्य बैंकहरुले कूल २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब ९८ अर्ब रुपैयाँ ऋण दिएका थिए । तर, भदौ १३ गतेसम्म आइपुग्दा निक्षेप २१ अर्ब रुपैयाँले घटेर २८ खर्ब ५७ अर्ब रुपैयाँमा खुम्चिएको छ भने कर्जा ३१ अर्ब रुपैयाँले बढेर २५ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
‘आर्थिक वर्षको शुरुमै देखिएको यस्तो तथ्यांकले बैंकिङ प्रणालीमा यो वर्ष पनि तरलता अभाव हुने प्रष्ट संकेत गर्छ,’ एक बैंकरले क्लिकमाण्डूसँग भने ।
गत वर्षभरी नै बैंकहरुले तरलता अभावको मार खेपेका थिए । निक्षेप वृद्धिको तुलनामा कर्जाको माग अत्याधिक हुँदा तरलता अभावको समस्या आइपरेको हो ।
साउन महिनामा बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटेको थियो भने कर्जा ९ अर्ब रुपैयाँले बढेको थियो । यसले बैंकिङ क्षेत्रलाई मात्रै होइन, ऋण लिएर केही गर्छु भन्नेहरु पनि प्रभावित हुनेछन् ।
साउन लागेपछि प्रत्येक हप्ता बैंकको निक्षेप घटिरहेको छ । राष्ट्र बैंकका अनुसार असार अन्तिममा २८ खर्ब ७८ अर्ब रहेको निक्षेप साउन ३ गते घटेर २८ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको थियो । त्यसगरी, साउन १० गते २८ खर्ब ६२ अर्ब, साउन १७ गते २८ खर्ब ५९ अर्ब, साउन २४ गते २८ खर्ब ५८ अर्ब र भदौ १ गते २८ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप छ ।
त्यसैगरी, भदौ ६ गते २ अर्बले निक्षेप घछेर २८ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ भने भदौ १३ गते ४ अर्बले बढेर २८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, असार अन्तिममा २४ खर्ब ९८ अर्ब रुपैयाँ रहेको कर्जा साउन ३ गते २४ खर्ब ८५ अर्ब, साउन १० गते २४ खर्ब ८२ अर्ब, साउन १७ गते २४ खर्ब ८८ अर्ब, साउन २४ गते २४ खर्ब ९९ अर्ब र भदौ १ गते २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी, भदौ ६ गते २५ खर्ब १६ अर्ब रुपैयाँ पुगेको कर्जा भदौ १३ गते २५ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
आर्थिक वर्षको सुरुवाती महिनामै निक्षेप घटेपछि र कर्जा बढेपछि बैंकरहरु तनाब लिन थालेका छन् ।
‘राष्ट्र बैंकले स्प्रेड र बफर क्यापिटलमा कडाइ गरेको अवस्थामा व्यवसायको आकार बढाउन नसक्ने हो भने बैंकको नाफा घट्न गई बैंकिङ क्षेत्रका लगानीकर्ताहरुमा निराशा पैदा हुने बैंकरहरु बताउँछन् ।
‘नियामकले पेलेको पेलै छ, बजारमा पैसा छैन,’ ती बैंकरले भने, ‘चौतर्फी चेपुवामा बैंकहरु परेका छन् ।’
गत आर्थिक वर्षमा पनि कर्जा र निक्षेपबीचको असन्तुलन थियो । एक वर्षमा ४ खर्ब ८ अर्ब रुपैयाँले निक्षेप बढेको थियो भने ३ खर्ब ८७ अर्ब रुपैयाँले कर्जा बढेको थियो । वर्षभरीमा निक्षेपभन्दा २१ अर्ब रुपैयाँले मात्रै बढी निक्षेप संकलन भएको थियो ।
बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएपनि बैंकहरुले निक्षेप आकर्षित गर्न ब्याजदर बढाएका थिए । ब्याजदर बढाउने प्रतिस्पर्धाले अर्थतन्त्र नै धरापमा पर्ने भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पटक पटक ब्याजदरमा भद्र सहमति गरेको थियो ।
यो आर्थिक वर्षको सुरुमा तरलता छ्यालब्याल हुन्छ र भद्र सहमति तोडौला भनेर बसेको बैंकर्स एसोसिएशन आर्थिक वर्षको पहिलो डेढ महिनाको हवस्था देखेर हच्किएको छ ।
‘असारमा राम्रै तरलता थियो, त्यसैले ब्याजदरलाई सँधै नियन्त्रण गरेर राख्नु हुँदैन भनेर साउन अन्तिमतिर भद्र सहमति तोडेर अघि बढ्नुपर्छ भन्ने विषयमा बैंकरहरुबीच सहमति भइसकेको थियो, तर बजारको अवस्थाले दिएन,’ बैंकर्स संघका एक अधिकारीले भने ।
SHARE YOUR THOUGHTS