६ वाणिज्य बैंकले लाभांश घोषणा गरे, कस्को कति ? (सूचिसहित) « Eglish Khabarhub

६ वाणिज्य बैंकले लाभांश घोषणा गरे, कस्को कति ? (सूचिसहित)



काठमाडौं । अरु व्यवसायमा बैंकको भन्दा धेरै नाफा हुन्छ । तर, बैंकको नाफामा किन यतिधेरै चासो ? बैंकरहरु नै प्रश्न गर्छन् ।

बैंकले अर्बौं नाफा कमाएका समाचारहरु बाहिरिएसँगै नाफा धेरै भयो भन्ने आलोचनाहरु पनि सुनिन थालेपछि बैंकरहरुले यस्तो प्रश्न गर्न थालेका हुन् ।

अरुको तुलनामा बैंकको नाफामा चासो हुनुका पछि केही विशेष कारण छ ।

पहिलो कारण बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी हो । बैंकमा हजारौैंले लगानी गरेका हुन्छन् । आफूले लगानी गरेको कम्पनीले कति नाफा कमायो ? र, मैले कति लाभांश पाउँछु भन्ने लगानीकर्ताको मूख्य चासो हो ।

त्यसैले अरुको तुलनामा बैंकको नाफामा आम मानिसको चासो भएको हो ।

दोस्रो, नेपालको सेयर बजारलाई बैंकिङ क्षेत्रले डोमिनेट गरेको छ । अर्थात् देशको सेयर बजारको ७५ प्रतिशत हिस्सा बैंकिङ क्षेत्रले ओगट्छ । भनिन्छ, नेपालको सेयर बजारमा १५ लाख लगानीकर्ताहरु छन् ।

त्यसैले, १५औं लाख लगानीकर्ता भएको र सेयर बजारको ७५ प्रतिशत हिस्सा ओगट्ने बैंकिङ क्षेत्रको नाफा/घाटामा आम चासो हुन्छ । र, मिडियाहरुले पनि प्राथमिकताका साथ त्यस्ता समाचारलाई स्थान दिन्छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले अहिले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमधये हालसम्म ६ वटाले लाभांशको घोषणा गरिसकेका छन् ।

एनआइसी एशिया, सानिमा, माछापुच्छ्रे, सिटिजन्स, कुमारी बैंक र बैंक अफ काठमाडौंले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका हुन् ।

बैंकहरुले घोषणा गरेको लाभांश राष्ट्र बैंकको स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिनेछ ।

एनआईसी एसीया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियोे । बैंकले उक्त नाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । बैंकले बोनश र नदग गरी जम्मा २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

त्यस्तै, गत आर्थिक वर्षमा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको सानिमा बैंकले उक्त नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा बैंकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

गत आर्थिक वर्ष १ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको माछापुच्छ्रे बैंकले ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कुमारी बैंकले गत आर्थिक वर्ष १ अर्ब ३३ करोड ४० लाख ७८ रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त नाफाबाट बैंकले १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी १०.५२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले कमाएको १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफाबाट ३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा हो ।

Publish on: