काठमाडौं । नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि ६ गतेसम्म राजधानीमा यार्न एन्ड टेक्सटायल एक्सपो-२०१९ आयोजना हुने भएको छ ।
नेपालमा उत्पादन हुने विभिन्न किसिमका धागोहरु तथा सोबाट उत्पादित र निर्मित कपडा, होजियरी, निटिङ तथा स्थानीय गार्मेन्टहरु एक्सपोमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
‘स्वदेशी लगाऔं, स्वदेशी बनौं’ भन्ने नारा दिइएको एक्सपोमा स्वदेशी उत्पादनलाई बढावा दिइनेछ ।
नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन कुमार गोल्याणले स्वदेशी उत्पादनहरु अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय हुनका साथै सस्तो पनि भएकाले यसको प्रचार प्रसार आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीकहाँ उत्पादन भइरहेको धागो तथा त्यसबाट निर्मित कपडाहरु गुणस्तरीय भए पनि त्यसले बजार लिन भने सकेको छैन ।’
उनका अनुसार नेपालमा धागो उत्पादन राम्रो भए पनि सो अनुसारको गार्मेन्ट भने उत्पादन हुन सकेको छैन । उनका अनुसार नेपालमा उत्पादित धागोहरु अहिले टर्की, बेलायत, खाडी मुलुकसँगै ल्याटिन अमेरिकी मुलुक, भारत तथा बंगलादेशमा समेत निर्यात भइरहेको छ ।
कार्यक्रममा बोल्दै स्थानीय गार्मेन्ट उत्पादक संघका अध्यक्ष किशोर नेपालले स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । नेपाली उत्पादनको प्रयोगमा जोड दिन र बजार बढाउनु पर्ने उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS