अर्थमन्त्री डा. खतिवडाको अभिव्यक्तिसँगै सेयर बजारमा उछाल « Eglish Khabarhub

अर्थमन्त्री डा. खतिवडाको अभिव्यक्तिसँगै सेयर बजारमा उछाल



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको अभिव्यक्तिका कारण सेयर बजारमा एकाएक उछाल आएको छ ।

अर्थमन्त्री डा. खतिवडाले अहिले सेयर बजारमा लगानीकर्ताहरुको विश्वास बढाउनु पर्ने अवस्था आएकोले दोस्रो बजारका खेलाडीहरुले खेल्ने तथा यो बेला बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । मन्त्रीको अभिव्यक्ति लगत्तै बढेको बजार अन्तिमसम्म कायम नै रह्यो ।

कर्मचारी सञ्चय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा मन्त्री खतिवडाले अहिले बैंकहरुको नाफा बढिरहेको, वित्तीय प्रणाली सबल भएको, राजनीतिक स्थायित्व भएको, करको समस्या समाधान भएको समयमा पनि बजारमा गिरावट आउनु राम्रो नभएको भन्दै यो समयमा नै दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न सुझाव दिएका थिए ।

पुँजी बजारमा दिर्घकालीन प्रकृतिका पूर्वाधार निर्माण गर्न कर्मचारी सञ्चयकोषको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री खतिवडाले प्राथमिक बजारमा कोषको भूमिका महत्वपूर्ण हुने भएकाले त्यही अनुसार लाग्न पनि आग्रह गरेका थिए । मन्त्रीको यो अभिव्यक्तिसँगै मंगलबार सेयर बजार २६.९१ अंकले बढेर ११५०.७४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले बढेर २५१.५७ बिन्दुमा रोकिएको छ ।

१७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता सेयर ३८ करोड ३९ लाख ५७ हजार ४२६ रुपैयाँमा किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैैकिङ समूहको उपसूचक २१.०७, होटल ५७.७९, विकास बैंक २६.७७, जलविद्युत ३९.५, निर्जीबन बीमा कम्पनी, ८८.५७, उत्पादन तथा प्रूशोधन १०१.७, जीवन बीमा समूहको उपसूचक १०२.९३ अंकले बढेको छ । कारोबार रकमको आधारमा सिद्धार्थ बैंकले अग्रता लिएको छ । बैंकको ३ करोड ४९ लाख ७७ हजार ३६० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र ,नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

Publish on: