काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।
अध्यक्ष कार्कीले पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको भन्दै छानविनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
कार्कीविरुद्ध अख्तियारमा यही भदौ ३० गते (सोमबार) सि-७४३५ नम्बरको उजुरी दर्ता भएको हो । उक्त उजुरीको प्रतिलिपि क्लिकमाण्डूलाई प्राप्त भएको छ । उजुरीमा अध्यक्ष कार्कीले बोर्डबाट ६ लाख रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।
बोर्ड अध्यक्ष कार्की २०७४ साल चैत्र ७ गतेदेखि १४ गतेसम्म जापानको राजधानी टोकियोमा भएको ‘१८औं टोकियो सेमिनार अन सेक्यूरिटिज मार्केट रेगुलेसन’मा भाग लिन गएका थिए । उक्त कार्यक्रममा भाग लिन जानका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने थियो । कार्कीले प्रस्ताव राखेपनि मन्त्रालयले स्वीकृति दिएन ।
सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार
तर, मन्त्रालयले अनुमति नदिए पनि उक्त समय कार्की कार्यालय बिदामा बसे । र, सेमिनारमा भाग लिन उनी जापान गए ।
उनको भ्रमणलाई मन्त्रालयले अनुमति लिएको भए त्यो भ्रमणको खर्च बोर्डले व्यहोर्ने थियो । सरकारी उच्च अधिकारीहरुले विभिन्न भ्रमणमा गएर मोटो रकम खर्च गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आफू मातहतका निकायका अधिकारीहरुको भ्रमणमा कडाइ गर्दै आएका छन् ।
सरकारले आर्थिक मितव्ययीताका लागि भन्दै जथाभावी भ्रमणलाई नियन्त्रण गर्ने नीति लिएको हो ।
तर, सरकारको उक्त नीति लत्याउँदै बोर्ड अध्यक्ष कार्की कार्यालय बिदा बसेरै भएपनि जापानमा भएको सेमिनारमा भाग लिन गए ।
जापानबाट फर्केपछि कार्कीले बोर्डबाट ६ लाख रुपैयाँ भरपाइ लिएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
यसअघि अन्य विभिन्न विवादमा तानिए पनि कार्कीमाथि आर्थिक अनियमितताको आरोप भने लागेको थिएन । अन्तिम समयमा आएर अख्तियारमा उजुरी परेपछि कार्कीको कार्यकाल खल्लो भएको छ ।
तत्कालीन अर्थमन्त्री डा. रामहरण महतको प्रस्तावमा मन्त्रिपरिषदले कार्कीलाई २०७२ साल असोज ३० गते बोर्डको अध्यक्षमा नियुक्ती गरेको थियो । नियमानुसार कार्की असोज २९ गते सम्म कार्यकाल रहेको छ ।
तर, अख्तियारमा उजुरी परेको थाहा पाएपछि कार्की असोज दोस्रो साता अमेरिका जाने तयारीमा रहेको धितोपत्र बोर्ड स्रोतको दाबी छ । स्रोतका अनुसार उनी असोज ४ गतेदेखि कार्यालय विदा बस्दैछन् ।
‘उहाँ (अध्यक्ष कार्की)का सन्तानहरु अमेरिकामा हुनुहुन्छ, अख्तियारमा उजुरी परेको थाहा पाएपछि कार्यकाल सकिनुभन्दा १५ दिनअघि नै अमेरिका जाने तयारी गरिरहनु भएको छ,’ स्रोतले भन्यो ।
यसअघि कार्कीका धेरैवटा अभिव्यक्तिहरु र केही नीतिहरु विवादमा आएका थिए ।
सरोकारवालाहरु गुनासो राख्न जाँदा ‘आफू विश्वका विभिन्न देशमा काम गरेको अनुभव भएको, राष्ट्र बैंकमा पनि पहिला काम गरेको र आफूलाई धेरै कुराको ज्ञान भएको प्रतिकृया दिने म भन्दा जान्ने कोही पनि छैन,’ भन्दै थर्काएर पठाउँथे । उनको यो स्वभावले सरोकारवालाहरु आजित भएका थिए ।
सेयर बजारका लगानीकर्ताहरुले त कार्कीको राजिनामाको माग गर्दै पटकपटक धर्ना तथा आन्दोलनसमेत गरेका थिए । उता ब्रोकरहरु पनि कार्कीविरुद्ध खनिएका थिए ।
चुनावका बेला कार्कीले सेयर ब्रोकरहरुसँग आर्थिक सहयोग उठाएर नेपाली कांग्रेसलाई बुझाउने भन्दै पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतलाई मात्रै बुझाएको भन्दै ब्रोकरहरुले हिसाबकिताब मागेका थिए ।
ब्रोकरहरुले आफूहरुले धितोपत्र बोर्डका अध्यक्ष कार्कीमार्फत् पार्टीका लागि चन्दा दिएको भन्दै उक्त चन्दाको बिल भरपाई कांग्रेसको आर्थिक विभागमा मागेका थिए । यसरी कार्कीले ब्रोकरसँग उठाएको चन्दा पार्टीलाई नदिई डा. महतलाई मात्रै दिएको भेटिएको थियो ।
यो घटनापछि ब्रोकर र धितोपत्र बोर्डका अध्यक्ष कार्कीबीच सम्बन्ध बिग्रिएको जानकारहरु बताउँछन् ।
‘तिमीहरु हिसाबकिताब खोज्ने पख, म तिमीहरुलाई सिध्याइदिन्छु भनेर अध्यक्ष कार्कीजीले हामीलाई धम्की दिनुभएको थियो,’ एक ब्रोकर स्मरण गर्छन्, ‘फलस्वरुप उहाँ आफैं एजेन्टजस्तो भएर बैंकलाई ब्रोकर लाइसेन्स दिन लबिङ गर्दै हिँड्नुभयो ।’
कुनै पनि संघ संस्थामा जागिर खानु पूर्व नै त्यो संस्थाको हितमा काम गर्छु, भ्रष्टाचार गर्दिन, सम्बन्धित संस्थाबाट सेवा लिने सेवाग्राहीलाई सदैव उनीहरुको हित अनुसार नै सेवा दिन्छु भनेर बाचा बाँधिएको हुन्छ, कसम् खाएको हुन्छ । यसरी खाएको कसम पुरा भयो कि भएन भनेर उसले त्यो संस्थामा बसेर काम गरेको अन्तिम दिनसम्म नै हेरिन्छ ।
सेयर बजारको लागि धेरै नै राम्रो काम गरेका छन्, भन्न कन्जुस्याई गर्नु हुँदैन । कार्कीको कार्यकाल अब १ महिनामात्रै बाँकी छ । यो अवधिमा कार्की आर्थिक रुपमा विवादमा खासै तानिएका थिएनन् ।
तर अहिले आएर थोरै रकममा र्याल चुहाएको आरोप लागेको हो ।
SHARE YOUR THOUGHTS