काठमाडौ । नेपालको हवाई क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकतामा राख्दै ४७ अर्ब बराबरको बजेट तय गरेको छ ।
निर्माणका क्रममा रहेका भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलाई विशेष प्राथमिकतामा राखेको छ ।
त्यसका लागि प्राधिकरणले ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि तय गरिएको बजेटले निर्माणाधिन राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
यस्तै निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई महत्व दिएको छ । बजेटमा तीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि चालू आवमा २३ अर्ब बजेट विनियोजन गरिएको छ ।
निजगढ, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि विशेष रुपमा बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले चालू आवका लागि ८ अर्ब ३३ करोड १३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । जसमा आन्तरिक स्रोतबाट २९ अर्ब र सरकारबाट ऋण सहयोग १७ अर्ब प्राप्त गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । चालू आवमा ३४ अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य लिएको प्राधिकरणले चालू खर्चका लागि ४ अर्ब छुट्टयाइएको छ ।
SHARE YOUR THOUGHTS