काठमाडौं । बाह्रखरी डटकमको आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा ‘बाह्रखरी एभरेष्ट गोल्फ’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी अक्टोबर २० देखि २६ तारिखसम्म आयोजना हुने प्रतियोगिता स्टेबल फोर्ड विधिमा आधारित भइ खेलाइनेछ ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १०० जना खेलाडी सहभागी हुनेछन् भने उक्त प्रतियोगिता र पर्यटन प्रबद्र्धनका लागि विश्वका २० जनाभन्दा बढी प्रतिष्ठित मिडियाका पत्रकारहरु समेत सहभागी हुनेछन् ।
प्रतियोगितालाई नेपाल भ्रमण वर्ष २०२० र पर्यटन बोर्डले समेत सहकार्य गरेका छन् ।
खेलका माध्यमबाट पर्यटनको विकास गर्न सकिने भएकाले आफूहरु यसमा जोडिएको नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज बैद्यले बताए ।
प्रतियोगिता २ चरणमा हुनेछन् । पहिलो चरणमा अक्टोबर २० मा ४२५० मिटरको उचाइमा रहेको कोङदे रीमा खेलाइनेछ । जहाँ ४० भन्दा बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिष्पर्धा गर्नेछन् ।
दोस्रो चरणमा सबै गोल्फरले अक्टोबर २६ का दिन काठमाडौं गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेलिनेछ ।
दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । २ चरणमा गरी करिब १ सय जना गोल्फरले खेल खेल्नेछन् ।
प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गोकर्ण गोल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङदे रीमा वान होल गल्फ कोर्स तयार पारिनेछ ।
यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिन लागेको पहिलो खेल हुने आयोजकको दाबी छ । खेलाडी तथा पत्रकारहरुलाई हेलिकप्टरको माध्यमबाट कोङदे लगिनेछ ।
प्रतिक्रिया दिनुहोस्