१ पुस २०८२, मंगलबार

कात्तिक १० देखि हिमालय एयरलाइन्सले चीन उडान भर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ ।

चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन । चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ । चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।

त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ । यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले १ वर्ष अघिदेखि उडान रोकिएको थियो । कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले क्वालालम्पुर राम्रो स्रोत बजार भएकाले आगामी कात्तिक १० देखि सो गन्तव्यमा उडान शुरु गरिने बताए ।

कम्पनीले यात्रुको सुरक्षा, सेवामा सुदृढीकरण, सामूहिकता तथा आतिथ्य सत्कारलाई प्राथमिकता दिएको उनले उल्लेख गरे। पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने उल्लेख गरे ।

उनले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा हिमालयले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नपालको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

हिमालयले चीनलगायत गन्तव्यमा उडान थप गर्ने योजनासँगै जहाजको सङ्ख्या थप्ने प्रक्रियासमेत अघि बढाएको बुझिएको छ । कम्पनीको यही असोज महिनाभित्रै २८ सिट क्षमताको एयरबस ३१९ भाडामा ल्याउने तयारी छ । हिमालयले गत जेठ ३ गते भियतनामको ब्याम्बो एयरलाई भाडामा दिएको जहाज पनि फिर्ता ल्याउन लागेको छ । कम्पनीले छ महीनाका लागि जहाज भाडामा दिएको थियो ।

गत साउन ६ गतेबाट बङ्गलादेशको ढाकामा पनि उडान शुरु गरेको हिमालयले आगामी वर्षभित्र ५ वटा जहाजले उडान गर्ने योजना बनाएको छ । अर्को वर्ष पनि नयाँ जहाज भाडामा ल्याउने एयरबससँग सम्झौता भइसकेको छ । एअरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य दोहा, दुबई/आबुधावी र दमाम (साउदी अरेबिया)मा उडान गरिरहेको छ ।

सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो ५ वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल पाँच गन्तव्य अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुर ९बिचमा रोकिएको० मा उडान भर्दै आएको छ ।

आठ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए-३२०-२१४ सिरिजका जहाजले उडान गरिरहेको हिमालयले निकट भविष्यमा ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति थप दुई थान ए-३१९ सिरिजका जहाज खरीद गर्ने योजना बनाएको छ । एशियाली मुलुकमा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हिमालयले हालै युएईको आबुधाबी र बङ्गलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ ।

लगानीकर्ता फेरिए, लोगो परिवर्तन

हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ । जम्मा ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएको जनाइएको छ । उक्त कम्पनीको ठाउँमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो । कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वर्ल्ड कम्पनीको नाममा रहेको छ ।

हिमालयले नयाँ लगानीकर्ता भित्रिएसँगै रणनीतिक योजनाका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । कम्पनीले हिमालयको चुचुरोमा उड्दै गरेको चीललाई अङ्कित गर्दै बनाएको नयाँ लोगो कम्पनीका अध्यक्ष झो र उपाध्यक्ष श्रेष्ठले सार्वजनिक गरे ।

‘पाँच वर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निमार्ण गरेका छौँ । यसलाई नयाँपन दिन संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै उपयुक्त रणनीतिअन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय लियौँ । संस्थाको प्रमुख आधारलाई नयाँ लोगोमा प्रतिविम्बित गर्नका साथै आगामी दिनमा पनि निरन्तर अगाडि बढ्ने अठोट व्यक्त गर्न चाहन्छु ।’ उपाध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष झोले हिमालयको नयाँपनले संस्थागत विस्तार र नयाँ उचाइ हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याएको र आगामी दिनमा कम्पनीलाई नेपाल मात्र नभई एशियामै नेतृत्व गर्ने एयरलाइन्सको रूपमा स्थापित गराउन निरन्तर प्रयास गरिने उल्लेख गर्नुभयो ।

नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सकिनेछ । सातामा ७० उडान हुँदै आएकोमा १८ उडान थपिएको हो । नेपाल र चीनबीच जुलाई ७ सन् १९९८ मा हवाई सम्झौता भएको थियो ।

चीनको बेइजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु,, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्न पाउनेछन् । चीनसँगको दुई दशक बढी लामो हवाई साझेदारी भएपनि नेपाली जहाजले अझै सहज उडान पाएका छैनन् ।

चीनबाट अहिले पाँच वटा वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । यसअघि निजी क्षेत्रको हिमालयले चीनका गन्तव्यमा केही चार्टर्ड उडान मात्रै गर्दै आएको थियो । रासस