धितोपत्र बोर्डका कार्यबाहक अध्यक्षको खुलासाः सेयर बजारमा भित्री सूचनाको आधारमा कारोबार « Eglish Khabarhub

धितोपत्र बोर्डका कार्यबाहक अध्यक्षको खुलासाः सेयर बजारमा भित्री सूचनाको आधारमा कारोबार



काठमाडौं ।  धितोपत्र बजारमा केही कारोबारहरु भित्री सुचनाको आधारमा हुँदै आएको नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष परिष्ठनाथ पौडेलले बताएका छन् ।

यस्ता प्रवृतिका कारोबारलाई पहिचानगरीे कारबाही गर्ने नेपाल धितोपत्र बोर्डका पौडेलले बताए । ‘बैंकिङ एक्पो २०१९’ को उद्घाटन कार्यक्रममा बोर्डको कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौडेलले यस्तो बताएका हुन । ‘यस्ता प्रकारका कारोबारलाई पहिचान गरेर कारवाही दायरामा ल्याएर त्यस्ता कारोबार निरुत्साहित गर्ने तयारी बोर्डले थालेको छ,’ पौडेल भन्छन् ‘यसका लागि बोर्डले नियमावली बनाएर मन्त्रालय पठाइसकेको छ । नियमावली स्वीकृत भएर आएपछि बजारमा रहेका त्यस प्रकारका कारोबार रोक्न बोर्ड सक्षम हुने उनको भनाई छ ।

यस्तै, पुँजी बजारको विकास र विस्तारका लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ संशोधन गर्ने भएको छ । पौडेलका अनुसार धितोपत्र बजारमा बोर्डलाई सवल र सक्षम निकायको रुपमा स्थापित गर्नको लागि ऐन संशोधन गर्न लागिएको बताएको हो ।

धितोपत्रको प्राथमिक बजार हाल ७७ वटै जिल्लामा पुगिसकेको छ । २५ सयभन्दा बढी स्थानहरुमा सेयर खरिद बिक्री भइरहेका छन् । दास्रो बजार भने काठमाडौं उपत्यकामा ५० र उपत्यका बाहिर ४९ स्थानबाट खरिद बिक्री भइरहेको छ । अहिलेको आवश्यकता भनेको धितोपत्रको माग अनुसार बजारलाई बढाउनु नै हो । बजारमा आवश्यक देखिएको अर्को कुरा स्टक डिलरको पनि हो ।

हाल स्टक डिलर संस्थागत लगानीकर्ता रुपमा रहने भएपनि नेपालमा रिटेल लगानीकर्ताहरु मात्र स्टक डिलरको रुपमा रहेका छन् । संस्थागत स्टक डिलर प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी नियमावलीमा आवश्यक व्यवस्थाहरु समावेश गरेर अर्थमन्त्रालयमा पेश गरेको पौडेलले बताए । ‘यो नियमावली अर्थ मन्त्रालयबाट चाँडै स्वीकृत भएर आउँला’ उनले भने ‘ मन्त्रालयबाट स्वीकृत भएर आएपछि धितोपत्र दलालको साथै नागरिक लगानी कोष, कर्मचारी संचयकोष जस्ता संस्थागत लगानीकर्तालाई पनि स्टक डिलरको रुपमा काम गर्ने वातावरण खुल्नेछ ।’

हाल बजारमा बैंक तथा वित्तीय संस्थाहरुले मात्र सामुहिक लगानी कोष (म्यूचुअल फण्ड) सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । तर अन्तर्राष्ट्रिय पुँजी बजारलाई हेर्ने हो भने मुलुकको अर्थतन्त्रमा सहभागी सबै क्षेत्रले यो फण्ड सञ्चालन गर्ने तथा धितोपत्र बजारमा सहभागी हुन पाउँछन् । अब नेपालमा केही समयमा नै बीमा कम्पनीहरुले पनि उक्त फण्ड मार्फत धितोपत्र बजारमा सहभागी हुन पाउने उनको भनाई छ । यसका लागि आवश्यक व्यवस्था धितोपत्र नियमावलीमा समावेश गरी अन्य प्रकृयाहरु अगाडि बढाइसकेको पौडेलले बताए ।

यस्तै, बोर्डले बजारमा भेन्चर क्यापिटल प्राइभेट इक्युटी फण्डको प्रवेश गराउनका लागि केही कम्पनीहरुलाई अनुमति दिने भएको छ । यो नेपालको पुँजी बजारका नयाँ प्रोडक्ट हो । धितोपत्र बजारमा रियल सेक्टरका कम्पनीहरुको उपस्थीति न्युन रहेको छ । राम्रो कार्य सम्पादन भएको र बढी प्रतिफल दिने सक्ने रियल सेक्टरका कम्पनीहरुलाई पनि बजारमा सेयर निष्काशन गर्न आर्कषित गर्न बुक विल्डीङ्ग सिस्टमको प्रकृया बोर्डले अगाडि बढाएको छ ।

Publish on: