काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले निजी सवारी भाडामा लगाएको पाइए कारबाही गर्ने बताएका छन् ।
जुन प्रयोजनका लागि सवारी खरिद गरिएको हो सोही प्रयोजनका लागि मात्रै चलाउन पाइन्छ अन्यथा नपाइने भन्दै हमालले अनुगमन शुरु गरिसकेको जानकारी दिए ।
‘केही सवारी साधन कारबाहीमा परिसकेका छन्, अनुगमनलाई तीव्र बनाएका छौं’, शुक्रबार क्लिकमाण्डूसँग कुरा गर्दै हमालले भने ।
विभागले गत बुधबार सूचना जारी गर्दै रातो नम्बर प्लेट भएका सवारी साधन भाडामा नलगाउन भनेको थियो । जसमा रातो नम्बर प्लेट भएका सवारी साधनलाई भाडामा नलगाउन र लगाएको पाइए कानून बमोजिम कारबाही गरिने उल्लेख थियो ।
उक्त सूचनाले स्टार्टअप कम्पनीहरु पठाओ र टुटलसँगै कम्पनी स्थापना गरी निजी कार तथा जीप जस्ता सवारी साधन भाडामा लगाउँदै आएकाहरु अब बन्द गर्नुपर्ने हुन्छ ।
हमालले के ती सबै बन्द हुन्छन् त ? भन्ने प्रश्नमा कुनै अमूख कम्पनीभन्दा पनि रातो नम्बर प्लेट भएका सवारी यदी कसैले भाडामा लगाएर आम्दानी गरेको छ भने कारबाही गरिने बताए ।
बुधबार सूचना प्रकाशित भए पछि निजी सवारी साधनहरु भने पूर्ववत् रुपमा यथावत नै चलिरहेका छन् । साथै, राइड सेयरिङ कम्पनीहरु पठाओ र टुटलले समेत आफ्नो सेवा सञ्चालन गरिरहेका छन् ।
सामाजिक सञ्जालमा भने सरकारले टुलट, पठाओ जस्ता इनोभेटिभ आइडियामाथि प्रतिवन्ध लगाएर ठीक नगरेको भन्दै ब्यापक आलोचना भइरहेको छ ।
SHARE YOUR THOUGHTS