९ सय कर्मचारीका लागि जागिर खुलाउँदै त्रिवि सेवा आयोग « Eglish Khabarhub

९ सय कर्मचारीका लागि जागिर खुलाउँदै त्रिवि सेवा आयोग




काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिवि सेवा आयोगले ९ सय जना कर्मचारी माग गर्दै विज्ञापन गर्ने तयारी गरेको छ । केही समयपछि नै विज्ञापन गर्ने तयारीमा जुटेको आयोगका अध्यक्ष प्रा डा लालुप्रसाद पौडेलले बताए ।

आयोगले गतवर्ष पुसमा १६६ विषयका लागि ५५५ जना सह–प्राध्यापकको लागि विज्ञापन गरेको थियो । झण्डै ११ महिनापछि कात्तिक २८ देखि त्यही विज्ञापनका आधारमा परीक्षा सञ्चालन भइरहेको छ । अघिल्लो नेतृत्वले गरेको विज्ञापनका आधारमा नयाँ नेतृत्वले परीक्षा सञ्चालन गरिरहेको हो ।

अहिले आवश्यक भएको ९ सय जना कर्मचारीका लागि छिट्टै विज्ञापन गर्ने तयारीमा आयोग जुटेको छ । ९ सय कर्मचारीमध्ये झण्डै ५५० जना खुल्लातर्फ माग हुनेछ । विश्वविद्यालयमा अहिले दरबन्दीभन्दा आधा मात्रै कर्मचारी कार्यरत छन् ।

त्रिवि सेवा आयोगले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिइएको परीक्षामा प्राप्तांक फेरबदल गरेको भनी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मालगायतका १० जनालाई विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।

परीक्षालाई पार्दर्शी बनाउन विश्वविद्यालयले परीक्षा प्रणालीमा डबल कोडिङ प्रणाली लागु गर्नेछ । विगतमा परीक्षाफल प्रकाशित गर्दा अनियमितता भएपछि उक्त अनियमितता हटाउन डबल कोडिङ सिस्टम लागु गर्ने भएको हो ।

Publish on: