काठमाडौं । नेपालको बैंकिङ प्रणाली दिनानुदिन असुरक्षित बन्दै गएको छ ।
बैंक एटीएम ह्याकिङ, फर्जी अथवा नक्कली हस्ताक्षर तथा काउन्टर चोरी नक्कली लालपूर्जा, नक्कली एलसी खोली रकम ठगी हुने क्रम बढ्नुले पनि नेपाली बैंक तथा फाइनान्सहरु सुरक्षाका दृष्किटोणले कमजोर हुँदै गएको पुष्टि हुन्छ ।
केही दिन अगाडि जनता बैंकका ग्राहक गोपालमान राजबाहकको खाताबाट नक्कली हस्ताक्षर गरी चेक बनाएर गिरोहले १९ लाख ९९ हजार रुपैयाँ चोरेको छ ।
बैंकबाट ग्राहकको रकम चोरी हुने घटना पहिलो होइन । केही समय अगाडि चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएममार्फत् ३ करोड रुपैयाँ चोरी गरेका थिए । यस्ता घटनाले ग्राहकमा बैंकप्रति सशंकित हुँदै गएका छन् ।
कमाएको पैसा सुरक्षित रहोस् भनेर बैंक तथा वित्तीय संस्थामा जम्मा गर्न सबै जना पुगेका हुन्छन् । सुरक्षित होला भनेर जम्मा गरिएका पैसा बैकबाट नै हराउँदा बैंकमा पैसा जम्मा गरेर बसेका ग्राहकमा बैकबाट नै पैसा हराउँला भन्ने भय बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले यस्ता घटनाबाट बैंक तथा ग्राहकहरु आफै जोगिन आग्रह गरेको छ । अनाधिकृत व्यक्तिबाट अनाधिकृत रुपमा बैंकबाट पैसा चोरी भएको हुँदा यस्ता घटनाहरु प्रति स्वयम् व्यक्ति र संस्था सचेत हुनुपर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
‘नितान्त व्यक्तिगत कागजपत्रहरु प्रयोग गरेर पैसा चोरी भएको छ, उनले भने ‘यो घटनाको शंकाको दायरामा जो पनि पर्न सक्छ ।’ निश्चित खातावालाको चेक प्रयोग गरिएको हुँदा यस घटनाबाट त्रसित नहुन सबै ग्राहकलाई प्रवक्ता निरौलाले आग्रह गरे ।
‘आत्तिनु र डराउनु पर्ने केही कुरा छैन्, यो परम्परागत घटना हो । यस्ता घटनाहरु सबै देशमा भइरहेका हुन्छन्, चोरी भएको पैसा ग्राहकले फिर्ता पाउँछ’ उनले भने ।
बैंकिङ प्रणाली पछिल्लो समय अझ सुरक्षित हुदै गएको र सामान्य चोरी डकैटीका घटनाहरु घट्दैमा वित्तीय कारोबार गर्न डराउन नहुने आश्वसन दिँदै निरौलाले बैंक तथा वित्तीय संस्थामा ढुक्क भएर कारोबार गर्न अनुरोध गरेको छन् ।
जनता बैंकबाट नक्कली चेक बनाएर चोरी भएको पैसा बैक दोषी भएमा बैंकले नै दिनुपर्ने र केही पैसा बीमा र केही पैसा कसुदारबाट असुल गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले उक्त घटनाको अनुसन्धानका लागि छुट्टै अनुसन्धान टोली खटाएको छ ।
यस्ता घटनाहरु बैंकभित्रै काम गर्ने व्यक्तिहरुले पूर्णरुपमा काम गर्न नसकेको हो भन्ने पुष्टी हुने प्रवक्ता निरौलाको भनाइ छ ।
‘बैंक सञ्चालन गरेर बस्नेहरु आफ्नो जिम्वेवारी राम्रोसँग पूरा गर्न नसकेको हो भन्ने शंका लगेको छ’ उनी भन्छन् ‘केही बैंकहरुले काउन्टरमा बस्ने कर्मचारीहरुलाई निक्षेप संकलनको टार्गेट दिने, कर्मचारीहरुलाई ९÷१० घण्टासम्म काम लगाइरहेको हुन्छ, उनी भन्छन् ‘बैंक सञ्चालकको यसै हर्कतले सञ्चालन जोखिम तथा बैंकिङ जोखिम बढ्छ ।’
राष्ट्र बैंकले यस्ता घटनाहरु रोक्न छुट्टै कानून बनाउने जनाएको छ ।
जनता बैंकबाट नक्कली हस्ताक्षर गरी चेक बनाएर रकम चोरी गर्ने गिरोहबाट प्रहरीले ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक गरी ६ वटा बैंकका ग्राहकको नक्कली चेक समेत बरामत गरेको छ ।
बरामत भएका चेकमा एनआइसी एसियाको काटिएको ६८ थान चेक, माछापुच्छ्रे बैंकको १७ थान नकाटिएको र २ थान काटिएको, एभरेष्ट बैंकको २० थान नकाटिएको र ३ थान काटिएको चेक, जनता बैंकको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, ज्योति विकास बैंकको एक थान चेक र मुक्तिनाथ विकास बैंकको ४१ थान काटिएको र १ थान नकाटिएको चेक विभिन्न नामका खातावालाको भेटिएको छ ।
SHARE YOUR THOUGHTS