काठमाडौँ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।
महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए ।
मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।
SHARE YOUR THOUGHTS