अमेरिकी सपनाले एक महिनामै थपियो सवा २९ करोड राजस्व « Eglish Khabarhub

अमेरिकी सपनाले एक महिनामै थपियो सवा २९ करोड राजस्व



काठमाडौं । अमेरिकाको सपनाले सबैलाई तानेको छ । के विद्यार्थी, के युवा युवा, के सहरिया त के गाँउले, सबैलाई अमेरिकाको सपनाले तानेको छ ।

सपनाको देश भनिने अमेरिकको वैभवलाई बाहिरी रुपमा मात्रै बुझेका नेपाली जस्तै संसारभरका धेरै नागरिक अमेरिकाको सपनाले लोभिएका छन् ।

काम गरेपछि पाइने सुविधा, नियम कानूनको उचित प्रयोग तथा नेपाल जस्ता अल्पकविकसित देशका नागरिकले अमेरिकाको सपना देख्नु अन्यथा मान्न सकिदैन । कहिले डिभी खुल्ला र भरुला भन्ने सोचमा रहेका अन्य देशका जस्तै नेपालीले पनि यसपटक अर्को एउटा खुटकिलो पार गर्नुपर्यो ।

इडिभी भर्न विगतमा जन्म मिति खुल्ने, कागजात तथा फोटो खिचे मात्रै हुने व्यवस्था थियो । सामान्यतयाः इडिभी भर्न कुने रकम लाग्दैन । यो निशुल्क रहेको अमेरिकाले पटक–पटक भन्दै आएको छ । तर, यसपटक उसैले गरेको व्यवस्थाले भने इडिभी भर्न चाहने नेपालीलाई वाध्य पारिदियो राहदानी बनाउन ।

पछिल्ला दिनमा फाट्टफुट्ट मात्रै राहदानी बनाउन पुग्ने राहदानी विभाग पुग्नेहरु थिए । इडिभी अर्थात अमेरिकाको चाखले पछिल्लो एक महिनामा मात्रै ठूलो मात्रामा राहदानी वापत राजस्व समेत संकलन भएको छ ।

एकातिर अमेरिका जाने सपनामा हराएका नेपालीले उसैले भने जस्तै राहदानी बनाउन लाग्दा सरकारी राजस्वमा समेत वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको ४ महिनामा नयाँ राहदानी बनाएबाट सरकारले कुल ६९ करोड ८ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसमध्ये कुल संकलित रकममध्येको ४२.३२ प्रतिशत राजस्व असोज १५ गतेदेखि कात्तिक १९ गतेसम्म संकलन भएको छ ।

जसमा ३९ करोड ८४ लाख ६३ हजार असोज १४ गतेसम्मको राहदानी बनाए वापतको राजस्व संकलन गरेको राहदानी विभागले जानकारी दिएको छ । त्यसपछि नेपालीले १ महिनाको अवधिमा नै राहदानी बनाउन २९ करोड २३ लाख ९६ हजार रुपैयाँ खर्च गरेका छन् ।

सरकारले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउने व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यलयबाट राहदानी बनाउँदा ५ हजार खर्च गर्दा १ महिनामा र राहदानी विभागबाट बनाउँदा १० हजार रुपैयाँ खर्च गर्दा ३ दिन, १२ हजार रुपैयाँमा २ दिन र १५ हजार रुपैयाँ खर्च गर्दा १ दिनमा नै राहदानी दिने व्यवस्था गरेको छ ।

एक महिनाको अवधिमा ४ हजार ३२५ वटा नयाँ राहदानी विभागले वितरण गरेको छ । उक्त राहदानीमा अधिकाश राहदानी अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को आवेदन फारम भर्नका लागि बनाइएका हुन् ।

अमेरिकाले आफ्नो देशका लागि अत्यावश्यक जनशक्तिको लागि विभिन्न देशबाट इडिभीमार्फत् विदेशी नागरिक भित्र्याउँदै आएको छ । अमेरिकाले इडिभीमार्फत्र नेपालीलाई पनि विगत २ दशकदेखि भित्र्याइरहेको छ ।

अमेरिकी सरकारले सन् २०२१ का लागि अक्टोवर २ तारिख नेपाली समय असोज १५ गतेदेखि कात्तिक १९ गते नोभेम्वर ५ तारिखसम्म आवेदन खुलाएको थियो ।

अमेरिकी सरकारले इडिभी प्रत्येक वर्ष खुलाउने गरेको छ । तर अघिल्ला वर्षमा इडिभीको आवेदन भर्दा इडिभी लट्रीको वेव साइटमा साधारण व्यक्तिगत विवरण भरे हुन्थ्यो । तर यो वर्ष भने इडिभी भर्नका लागि राहादानी अनिवार्य थियो ।

इडिभी २०२१ का लागि नयाँ व्यवस्थाअन्तर्गत मुख्य म्याद नसकिएको विदेश भ्रमण गर्न मिल्ने राहदानी वाहकले मात्र इडिभीमा आवेदन दिन पाउने थिए ।

डिभी भरी अमेरिका जाने अवसर नगुमाउन कै लागि भएपनि राहदानी विभागमा असोज २७ गते देखि नयाँ राहदानी बनाउनेको भीड अत्यधिकरुपले बढेको थियो ।

इडिभीको आवेदन खुल्ला हुनुभन्दा अगाडिसम्म दैनिक २०० भन्दा कमले राहदानी बनाउने गरेका थिए । असोज १५ देखि भने क्रमिक रुपमा दैनिक राहदानी बनाउनेको संख्या बढेको हो । यो अवधिमा २७ हजार ४४८ वटा नयाँ राहदानी बनेको छ ।

असोज १५ गते ३८२ वटा राहदानी निर्माण हुँदा त्यसवापत २२ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । असोज १५ गतेदेखि इडिभीको आवेदन फर्म खुल्ला भएतापनि यसका लागि राहदानी नम्बर आवश्यक पर्छ भनेर सबैमा जानकारी थिएन ।

आवेदनको समाप्ती मिति नजिकिँदै गएपछि इडिभीको आवदेनमा आवश्यक पर्ने राहदानी नम्बरका लागि विभागमा असोज २७ गते देखि घुइँचो बढ्न थाल्यो । असोज २४ गते राहदानी विभागबाट ३०० वटा नयाँ राहदानीको २३ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

असोज २५ र २६ गते सार्वजनिक बिदा परेको थियो । असोज २७ गते राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउनेको लाइन लागेको थियो । सो दिन कार्यालय खुलेको अघिल्लो दिनको तुलनामा ४ गुणा बढी १ हजार ३१४ राहदानी निर्माण भए । त्यसवापत १ करोड ४८ लाख ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन भयो ।

यो संख्या क्रमिक रुपमा बढ्दै दैनिक २ हजारभन्दा राहदानी निर्माण भएका छन् । जसमा कात्तिक १ गते १ हजार ८५५, कात्तिक ३ गते २ हजार ६६२, कात्तिक ४ र ५ गते ४ हजार ६४१ र ६ गते २ हजार राहदानी निर्माण भए ।

कात्तिक १ गतेदेखि ७ गतेसम्म मात्र १२ हजार ७२८ वटा राहदानीको १३ करोड १८ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

इडिभीको आवेदन सुरुदेखि समाप्ती मितिसम्म निर्माण भएका राहदानी संख्या र संकलित राजश्व ।

 

Publish on: